• ८ कात्तिक २०८१, बिहिबार

अध्यक्ष तिमिल्सिनासँग कतारी राजदूतको बिदाइ भेट

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाइ भेट गर्नुहुँदै नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेल । तस्बिर : अध्यक्ष तिमिल्सिनाको सचिवालय

काठमाडौं, असार २२ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाइ भेट गर्नुभएको छ ।

राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा गर्नुभएको बिदाइ भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले ठूलो सङ्ख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्नुहुँदै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र  नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध छ भन्नुभयो ।


अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो । 

उहाँले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रवर्द्धनमा मद्दत गरेको उल्लेख गर्नुहुँदै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन्, भन्नुभयो । यस्तै, नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहो¥याउँछु भन्नुभयो ।

भेटमा राजदूतले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्नुहुँदै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताउनुभयो । उहाँले पोखरा लगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरुमा पाँच/छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले नेपालले चासो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या छैन भन्नुभयो ।