• १९ जेठ २०८१, शनिबार

अस्ताए ‘रक’ मै रमाएका रविन

blog

काठमाडौँ, असार २२ गते  । ‘मेरो माया, ठिक छ, माया देऊ धोका नदेऊ, केटाकेटी, भुलमा भुलियो’ जस्ता गीत गाएर नेपाली रक सङ्गीतमा श्रोता झुमाएका नेपालका ‘रक स्टार’ रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठ–५, चिसेनीस्थित निवासमा मङ्गलबार बेलुकी उहाँको मृत्यु भएको खबरले नेपाली सङ्गीत क्षेत्रलाई मात्र होइन सम्पूर्ण सङ्गीतप्रेमीलाई स्तब्ध तुल्यायो ।

रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहनुभएका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत सक्रिय हुनुहुन्थ्यो । पछिल्लो चलचित्र ‘छड्के २’ मा उहाँ ग्याङ्ग्स्टारको भूमिकामा देखिनुभएको थियो । त्यसबाहेक उहाँले ‘जय पर्शुराम’, ‘बादशाह जुट’, ‘चिसो एस्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’ र ‘वान वे’ लगायत एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । बलिउडको वेब सिरिज ‘दी लास्ट आवर’ मा समेत उहाँको अभिनय देख्न सकिन्छ । 

रविन परिवारको कान्छा छोरा हुनुहुन्छ । उहाँ १२ वर्षको छँदा आमा बित्नुभयो । त्यसपछि उहाँलाई चार दाजु र दिदीले हुर्काउनुभयो तर उहाँलाई अत्यधिक माया गर्ने दाइको पनि उहाँ २२ वर्षको उमेर हुँदा देहावसान भयो । उहाँकी दिदी र अर्का दाइको पनि देहवसान भयो । यस्तै पारिवारिक विछोडलाई  झेल्दै हुर्किनुभएका रविनलाई सङ्गीतप्रतिको मोहले निखार्दै लग्यो र चर्चित सङ्गीतकर्मी बनायो । हुन त डाक्टर, नर्स र पाइलट भएका उहाँका दाजु दिदीको सपना पनि सङ्गीतकर्मी बन्ने थियो, त्यो सपना केवल रविनले मात्र पछ्याउन सक्नुभयो ।  

रविनका पिता बेलायती सेनामा जागिरे हुनुहुन्थ्यो । रविनको जन्म सिङ्गापुरमा भएको थियो । हरेक दुई वर्षमा उहाँका पिताको विभिन्न मुलुकमा सरुवा हुन्थ्यो । त्यसैले रविनको बाल्यकाल कहिले सिङ्गापुर, कहिले हङकङ, कहिले ब्रुनाई त कहिले बेलायतमा बित्यो । अमेरिकी गायक तथा सङ्गीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डिप पर्पलबाट प्रभावित रविनले सिङ्गापुरबाट नेपाल फर्किएपछि सन् २००६ मा एउटा ब्यान्ड स्थापना गर्नुभयो ‘रविन एन्ड द लुजः’ । चार वर्षसम्म रविन एन्ड लुजः मै रहनुभएका रविन सन् २००५ मा त्यससँग छुट्टिनुभयो र एक वर्षपछि अर्को ब्यान्ड खोल्नुभयो ‘रविन एन्ड द न्यु रेभोल्युसन’ । त्यही ब्यान्डले नयाँ एल्बम निकाल्यो ‘केटाकेटी’ । जसले त्यस समय अत्यधिक चर्चा बटुलेको थियो । हङकङमा हाइस्कुल पढ्नुभएका रविन उच्च शिक्षा हासिल गर्न क्यानडा जानुभयो । जहाँ उहाँले युनिभर्सिटी अफ टोरोन्टोबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभयो । परिवारको करमा इन्जिनियरिङ गरे पनि त्यसमा उहाँ कहिल्यै रत्तिन सक्नुभएन । त्यसपछि उहाँले रेस्टुरेन्ट व्यवसाय थाल्नुभयो र ब्यान्डमार्फत सङ्गीतमा होमिनुभयो । 

नेपाली सङ्गीत क्षेत्रमा रक सङ्गीत आजको अवस्थासम्म आइपुग्न निश्चय पनि उहाँ र उहाँको ब्यान्डको पनि उल्लेखनीय योगदान छ । सधैँ ‘अभ्यास, अभ्यास र अभ्यास’ भन्ने र त्यसैमा विश्वास गर्ने रविन आज हामीमाझ हुनुहुन्न तर उहाँका सिर्जना नेपाली आधुनिक सङ्गीतको भण्डारमा रक धरोहर भएर सधैँ रहने छन् । उहाँको निधनमा नेपाली सङ्गीतकर्मीलगायत विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी छ ।

यसैबिच नेपाली कांग्रेसले पनि तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बुधबार विज्ञप्तिमार्फत गायक तथा अभिनेता तामाङको निधनप्रति पार्टीका तर्फबाट दुःख व्यक्त गर्नुभएको हो । कांग्रेसले गायक तामाङको निधनबाट नेपाली ‘रक–पप’ सङ्गीतमा ठुलो क्षति पुगेको बताएको छ । साथै ‘दम मारो दम’, ‘केटाकेटी’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘मेरो माया’ जस्ता चर्चित गीतमार्फत नेपाली ‘रक–पप’ सङ्गीतलाई पहिचान र उचाइमा पु-याउन उहाँले महत्वपूर्ण योगदान दिएको स्मरण पनि कांग्रेसले गरेको छ । रक स्टार तामाङको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।