• १३ साउन २०८१, आइतबार

दुग्ध उत्पादक किसानलाई नगद अनुदान

blog

मीना कंडेल

कावासोती (नवलपुर), असार २० गते । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गरेको छ । नगरपालिकाभित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रुपियाँ अनुदान वितरण गरेको हो ।

कावासोती नगरपालिकाले विगत चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ । चार वर्षको अवधिमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई रु एक करोड १६ लाख अनुदान उपलब्ध गराएको छ । पहिलो वर्ष प्रतिलिटर एक रुपियाँ अनुदान उपलब्ध गराएको नगरपालिकाले हाल प्रतिलिटर एक रुपियाँ ५० पैसा अनुदान उपलब्ध गराउँदै आएको छ ।

चालु आर्थिक वर्षमा पालिकाभित्रका चार वटा सहकारी मार्फत दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराइएको हो । नगरपालिकाभित्र रहेका शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी 

कावासोती–२, एकीकृत दुग्ध विकास सहकारी कावासोती–८, साना किसान कृषि सहकारी कावासोती–१४ र जनकल्याण दुग्ध विकास सहकारी कावासोती – १७ मार्फत सलित दूधको लागि अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो ।

नगरपालिकाले उत्पादनका आधारमा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप अनुदान वितरण गरिएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । नगर प्रमुख भुसालले आगामी आर्थिक वर्षमा हाल दिँदै आएको दूधको अनुदान रकमलाई वृद्धि गर्ने बताउनुभयो । किसानलाई थप अनुदान, सहयोग, बजारीकरण लगायतका कार्यक्रम पालिकाले गर्ने उहाँले बताउनुभयो ।

पशुपालन किसानलाई दानामा धेरै लागत पर्दै आएकोमा आगामी दिनमा पशु आहारा उत्पादन गर्ने गरी साइलेज उद्योग स्थापना गर्ने योजना रहेको नगर उपप्रमुख फूलकुमारी थनेतले बताउनुभयो। पशुपालन किसान पलायन हुने अवस्थामा पुगेको हुँदा थप प्रोत्साहन आवश्यक भएकाले पालिकाको विविध सीमितता भएपनि किसानलाई थोरै भएपनि सहयोग गरेको थनेतको भनाइ छ ।