• १३ पुस २०८१, शनिबार

हिमाल र उत्पीडित जातिका सांसदलाई तेस्रो दर्जाको रुपमा हेरियो : सांसद शेर्पा

blog

राष्ट्रिय सभा बजेटबारे धारणा राख्नुहुँदै सांसद सोनाम ग्याल्जेन शेर्पा । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार १८ गते । राष्ट्रिय सभा सांसद सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेकाे बताउनुभएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सांसद शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताउनुभएको हो । उहाँले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताउनुभयो । बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरे पनि बजेट ल्याउँदा भने ठूल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हालेको हुने बताउनुभयो ।

सांसद शेर्पाले भन्नुभयो, ‘‘हामी ३ स्तरका सांसद रहेछौँ । एउटा पहुँचवाला सांसद, मन्त्री हुने । ठूलै बजेट लाने । एउटा सांसद यसो थर्काएर, विरोध गरेर पनि अलिअलि पैसा लाने । हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पिछडिएका जातबाट आएकाहरु चाहिँ तेस्रो दर्जाको सांसद पर्दारहेछौँ । न बजेट लान सक्छ । न केही गर्न सक्छ । सचिवहरुकहाँ गयो । सचिवहरुले पनि ढाँट्ने यसपालि त बजेट नै छैन । किनभने हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरु बनाउनुपर्छ । हाम्रा नियमित कार्यक्रमहरु छ, त्यसमा लगाउनुपर्छ । अर्थतन्त्र यस्तै छ डामाडोल छ भनेर ढाँटिदिने । अनि हामी सोझो मान्छे, हिमालको मान्छे पत्याइदिने । पत्याएपछि बजेट हेर्‍यो । मन्त्रीकोमा यति, ठूल्ठूला नेताहरुकोमा यति । अनि हाम्रोमा बजेट नै नहुने ।’’

उहाँले बजेट बाँडफाँट हेर्दा देशमा सङ्घीयताको आवश्यकता महसुस भएको बताउनुभयो । उहाँले सङ्घीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो देशमा सङ्घीयता आवश्यक रहेछ भन्ने कुरा बुझियो यो कुराबाट । केही न केही सङ्घीयताले गर्दाखेरी गाउँपालिकामा बजेट गयो । प्रदेशमा बजेट गयो । त्यो बजेटबाट सिस्टममा हामीले पनि बजेट पायौँ । यो सङ्घीयता पनि नहुने हो भने त हामीले त केही पनि नपाउने रहेछौँ । न यो देशको नागरिक नै गनिने रहेछौँ ? न यो देशको एउटा क्षेत्र नै गन्ने रहेछौँ ? हामीले केही नपाउने रहेछौँ । त्यसकारण यो देशको लागि अब सङ्घीयता भनेको आवश्यकता हो भन्नेकुरा बजेट बाँडफाँटले पनि देखायो । यो देशमा सङ्घीयता आवश्यकता छ । म जुन ठाउँबाट आएको छु त्यो क्षेत्रका लागि सङ्घीयता आवश्यकता छ । हिमाली क्षेत्रको लागि सङ्घीयता आवश्यक छ ।’’ 

उहाँले समाजबाट नैतिकता हराउँदै गएको भन्दै युवाहरुलाई नैतिक शिक्षा पढाउनु जरुरी रहेको बताउनुभयो । उहाँले विदेशमा काम गर्न जाने युवाहरुलाई सीपमा दक्ष बनाएर मात्रै पठाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक नियुक्तिका पदहरुमा क्षमता अनुसारका व्यक्तिहरु मात्रै नियुक्त गर्नुपर्ने बताउनुभयो ।