• १३ साउन २०८१, आइतबार

मैनालीलाई मूर्तिकला रत्न उपाधि

blog

काठमाडौँ, असार १८ गते  । वरिष्ठ आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मान गरिएको छ । ‘आरम्भ’ समसामयिक नेपाली मूर्तिकार समूहले स्थापना गरेको ‘आधुनिक मूर्तिकला रत्न’ उपाधि एक समारोहबिच ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले मैनालीलाई प्रदान गर्नुभएको हो । कार्यक्रममा बोल्दै उपकुलपति लामाले नेपाली मूर्तिकला क्षेत्रमा कलाकार मैनालीको स्थान उच्च रहेको बताउनुभयो । 

कलाकार मैनाली व्यक्तिगत मात्र नभई संस्थागत रूपमै कला उत्थानमा विगत सात दशकदेखि साधनारत हुनुहुन्छ । उहाँले आफ्नो जीवन सङ्घर्षका चरणहरू सुनाउँदै कलामा निरन्तर साधनारत रहन सुझाव दिनुभयो । कर्मले सफलतालाई पछ्याइरहन्छ भन्दै उहाँले हरेक कलाकारले आफ्नो देशको कलालाई माया गर्नुपर्ने र देशविदेशमा चिनाउन पहल गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्राज्ञ रमेश खनालले नेपाली मूर्तिकला क्षेत्रमा कलाकार मैनाली आधुनिकताको सुरुवातकर्ता मात्र नभई पथप्रदर्शक पनि भएको बताउनुभयो । उहाँले मैनालीका कलालाई सङ्ग्रहालयमा संरक्षण गरी भावी पुस्ताका लागि सङ्ग्रह गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । आरम्भका अध्यक्ष मूर्तिकार सुदर्शनविक्रम राणाले नेपालको माटो सुहाउँदो आधुनिक मूर्तिकलाको वातावरण सिर्जना गर्ने एक निर्विकल्प युगपुरुषका रूपमा मूर्तिकार मैनाली रहेको बताउनुभयो । 

कलाकार मैनालीले २०१९ सालमा पहिलो पटक नेपालमा आधुनिक मूर्तिकलाको प्रदर्शनी गर्नुभएको थियो । उहाँले सिर्जना गरेका वातावरणीय मूर्तिहरू त्रिविपरिसर, फर्पिङ जलविद्युत् आयोजना, कृषि विकास बैैङ्क, टेलिकम, भृकुटीमण्डपमा रहेका छन् ।