लक्ष्मण पौडेल
भैरहवा, असार १७ गते । अस्पतालमा बढ्दो बिरामीको चापका कारण रगतको माग धान्नै मुस्किल हुन थालेको छ । रक्तसञ्चार केन्द्र रुपन्देहीका अनुसार रगतको माग र आपूर्तिमा ठूलो अन्तर छ ।
अस्पतालमा बिरामीको चाप बढेसँगै रुपन्देही र आसपास जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा रगत अभाव भएको केन्द्रको भनाइ छ । अहिले रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीले नियमित रक्तदाता समाजको सहयोगमा ताजा रगत दान गर्नेलाई केन्द्रमै बोलाएर बिरामीका आफन्तलाई रगत दिइरहेको छ ।
रक्तसञ्चार केन्द्रमा दैनिक करिब एकसय युनिट रगतको माग छ । अन्य समयमा रक्तसञ्चार केन्द्रले कपिलवस्तु, नवलपरासी, पाल्पा, दाङ, चितवनसम्म दैनिक ५० युनिटसम्म रगत पठाउने गरेकोमा हाल ‘ओ’ रक्तसमूह बाहेकका सबै रगतको अभाव छ ।
केन्द्रका ल्याब प्राविधिक चन्द्रबहादुर झेडीले एउटै व्यक्तिले तीनदेखि पाँच पोका रगत माग्ने गरे पनि दिन सक्ने अवस्था नरहेको बताउनुभयो । रक्तसञ्चार केन्द्रमा अहिले २४ घण्टा रगत माग्ने बिरामीका आफन्तको भीड लाग्छ । समयमै रगत नपाउँदा कतिपय बिरामीको उपचार सेवा प्रभावित भएको छ ।
केही बिरामीका आफन्तहरु रक्तदाता खोज्दै हिँड्नुभएको छ । कोही आफैं रक्तदान गरेर आफन्तलाई रगत जुटाइरहेका छन् । छोराका लागि रगत लिन रक्तसञ्चार केन्द्रमा पुग्नुभएका भैरहवाका दिनेश थापाले आफूसहित साथीको रक्तदान गरेपछि आफूले पाएको बताउनुभयो ।
आफूले रक्तदान गरेमात्रै रगत पाइने भएपछि रक्तदान गरेको उहाँले बताउनुभयो । रुपन्देहीका अस्पतालमा शल्यक्रिया, सुत्केरी र मिर्गौलाको डाइलासिस सेवा बढिरहे पनि अस्पतालले रगत व्यवस्थापनमा ध्यान दिएको देखिएको छैन । रक्तदान महादान अभियानका साथ केही युवा नियमित रक्तदान गर्ने, सङ्घ संस्थामार्फत रक्तदान गराउने र आफूहरुले २४ घण्टा आकस्मिक रक्तदान गर्ने गरे पनि अभाव पूरा गर्न नसकेको बताएका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले रगतको माग बढ्ने तर पछिल्लो समयमा रक्तदाता पनि घट्दै गएकाले रगत अभाव बढेको बताउनुभयो । रक्तसञ्चार केन्द्रमा सामूहिक रक्तदान गर्ने स्थानको समेत अभाव छ । त्यसलाई बढाउन सके रक्तदाता र रक्तदान बढ्ने र अभाव पूर्ति हुने उहाँले बताउनुभयो ।
स्वास्थ्यका दृष्टिकोणले १८ वर्षमाथिको स्वस्थ पुरुषले प्रत्येक तीन महिनामा एक पटक र महिलाले प्रत्येक चार महिनामा एक पटक रक्तदान गर्न सक्छन् । तर जनचेतना अभावमा धेरैले रक्तदानले शरीर कमजोर बन्ने भ्रम पाल्नेगरेका छन् । यस्तो भ्रम हटाउन चेतनामूलक कार्यक्रम बढाउन र रगत संकलन एवं व्यवस्थापनमा सुधारगरी एकीकृत योजना बनाउनुपर्ने देखिएको रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताउनुभयो ।