• ३० वैशाख २०८२, मङ्गलबार

‘नगरपालिकालाई डबली हस्तान्तरण गर्दैछौं’

blog

तानसेन डबली । तस्बिर : बिन्दु थापा

बिन्दु थापा  

तानसेन, असार १७ गते । पाल्पाको तानसेन डबलीको संरक्षण र पर्यटनको मुख्य केन्द्र बनाउन नगरपालिकालाई तानसेन डबली हस्तान्तरण गर्ने तयारी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभएको छ ।   

आज तानसेनमा पत्रकारसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “धार्मीक एवं सांस्कृतिक महत्व झल्काउने र यहाँका जातजातिअनुसार भेषभूषा झल्काउने उद्देश्यले निर्माण भएको डबलीको संरक्षण गर्न प्रदेश तयार छ, अब प्रकियागत काम टुङ्ग्याएर हस्तान्तरण गर्दैछौं ।”

मुख्यमन्त्री चौधरीले सीमित बजेटलाई आवश्यकताअनुसार पर्यटन, शिक्षा, स्वास्थ्य, सञ्चारमा प्राथमिकता दिइएको बताउनुभयो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा तानसेन डबलीको निर्माण भएको थियो । 

पाल्पाको पर्यटन प्रवर्धन गर्दै यहाँका धार्मिक सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको तानसेन डबलीमा अहिले झार उम्रिएर भवन पुरिँदै गएको छ । प्रतीक्षा कन्स्ट्रक्सन कम्पनी काठमाडौंले ७ करोड रुपियाँको लगानीमा निर्माण गर्ने जिम्मा पाएको थियो । 

२०७८ असार ७ गते सम्पन गर्नेगरी कम्पनीले २०७६ साल असार ८ गते सम्झौता गरेको थियो । आवश्यक रेखदेख नहुँदा डबली अस्तव्यस्त भएको र लगानी खेर गएकाले  सञ्चालन गरी उत्पादनमुखी बनाउन यसको संरक्षण संवर्धन गर्न पत्रकारले सुझाव दिएका थिए ।