आदरणीय गुरु प्राध्यापक प्रेम शर्मासँगको दामोदर कुण्ड यात्रा अविस्मरणीय रह्यो । गुरुको ७० वर्षको त्यो जोस मेरो प्रेरणाको स्रोत बन्यो । दामोदर कुण्डको यात्रा पटक्कै सहज छैन । कठिन छ । चानचुने मुटु र कमजोर स्वास्थ्यले यो यात्रा सम्भव छैन । यात्रा कठिन छ तर अद्भुत छ । यो अत्यन्त चुनौतीपूर्ण, रोमाञ्चक र साहसिक यात्रा हो । सामान्य मानिसले यो हिम्मत नगरे नै हुन्छ । यद्यपि खाने मुखलाई जुँगाले छेक्दैन, घोडा तथा हेलिकोप्टरको पनि प्रयोग गर्न सकिन्छ, स्वस्थ मन चाहिन्छ । लेखक विष्णुप्रसाद शर्मा पराजुली भन्नुहुन्छ, “समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्ला दुई भन्ज्याङ पार गर्नुपर्ने, बाटोमा होटलको व्यवस्था नभएको, उकालो, ओरालो र भिरको बाटो हिँड्नुपर्ने, लेक लाग्न सक्ने भएकाले खाना, औषधी र कपडाको राम्रो व्यवस्था गरेर मात्र यो यात्रा सुरु गर्नु पर्छ । उत्तर, पूर्व र दक्षिण तीन दिशामा रहेका बाक्ला हिमचुचुराले घेरिएको भए पनि दामोदर कुण्ड भएको स्थल भने पाटन परेको उपत्यका हो । दामोदर कुण्ड यात्राको सबैभन्दा अग्लो धुरी बस्याक ला, बस्याकको लेक, जसलाई दामोदर पास पनि भनिन्छ, जुन ५,४५० मिटरको उचाइ पार गरेर अगाडि बढ्नु पर्दछ ।” गुरु अघि अघि म पछि पछि १६–२२ सेप्टेम्बर २०२२ को यो यात्रा साँच्चै रोमाञ्चक थियो ।
“ओ डा. साब सुन्नुस्, दामोदर कुण्डमा म¥यो भने सिधै वैकुण्ठ... के छ त नि विचार,” सरको यो ठट्टा निकै गम्भीर थियो । म केही बोलिनँ । दामोदर कुण्ड अन्नपूर्ण, धौलागिरि, नीलगिरि, भृकुटी र दामोदर जस्ता मुख्य हिमालले घेरिएको सानो उपत्यका हो । सामान्यतया देवता बस्ने स्थानलाई स्वर्ग भनिन्छ । दामोदर कुण्ड कालीगण्डकी नदीको शिर हो । यहाँ पवित्र शालिग्रामको पर्वत नै रहेको छ । बाटोमा हिँड्दा, जताततै शालिग्राम नै शालिग्राम भेटिन्छ, खुट्टाले कुल्चिनै पर्छ । के गर्नु र ? भगवान्सँग क्षमा माग्दै हिँड्नु पर्छ । संस्कृतमा यसलाई ‘शालग्राम’ भनिन्छ । यो भगवान् विष्णुको घर अर्थात् वैकुण्ठ नै हो जस्तो अनुभूति हुन्छ । यो क्षेत्र भगवान् शङ्कर मुक्तिनाथको शिर हो । यस्तै बोन्पो, बौद्ध तथा गुरु पद्मसम्भवको तपस्थल हो । यो सम्पूर्ण जीवात्मा जगत्को पहिलो उद्गम स्थल हो । शालिग्रामभित्रको फोसिल विश्वको पहिलो जीवको फोसिल हो । लगभग २० करोड वर्षअघि जुरासिक युगमा नेपालको हिमालय क्षेत्रमा टेथिस सागर थियो । टेथिस सागरमा जन्मेका जलचरहरूको अवशेष (जीवाश्म) नै शालिग्राम हो । त्यसैले यो नै विश्वको पहिलो प्राणी उत्पत्ति भएको क्षेत्र हो । विश्वको पहिलो प्राणीको अवशेष नै शालिग्राम हो । आत्मा तथा परमात्माको उद्गमस्थल हो । कालो रङको एमोनोइड जीवाश्मालाई भगवान् विष्णुको प्रतिनिधि स्वरूप मानिन्छ । त्यसैले ज्यादै मनमोहक दामोदर हिमालको काखमा अवस्थित दामोदर कुण्ड वास्तवमै स्वर्ग हो । पवित्र वैकुण्ठ हो । यहीँबाट सुरु हुन्छ कालीगण्डकीको स्वर्गीय यात्रा । दामोदर कुण्डमा गोलो आकारको एक चव्रm पनि देख्न सकिन्छ । यस क्षेत्रमा शिव, ब्रह्मा, विष्णु, देवता, ऋषि, यक्ष बास बस्न थालेको कुरा वराह पुराणमा उल्लेख गरिएको छ । सम्पूर्ण देवताको भव्य बासस्थान कैलाश पर्वत, मानसरोवर, गोसाइँकुण्ड, पाँचपोखरीजस्तै दामोदर कुण्ड हिन्दु–बोन–बौद्ध धर्मावलम्बीको एकीकृत पवित्र तीर्थस्थल भूस्वर्ग नै हो भन्न सकिन्छ । यात्रामा गुरुका यी ज्ञानगुनका खस्रा कुरा मननयोग्य छन् ।
दामोदर कुण्ड किन जाने ?
“रौसी खाएर नदी किनारमा रमाइलो गरेको छ कि छैन ?” प्राध्यापक प्रेम शर्माको प्रश्नमा मसँग फेरि पनि जवाफ थिएन । सुन्नुस् सत्ययुगमा सुन्दर लक्ष्मीतीर्थ भनिने गङ्गा नदीको किनारमा दुई युवा मस्त मदिरा पिएर नग्न रम्भा उर्वशी जस्ता युवतीसहित रमाइरहेका थिए । वातावरण पूर्ण मदमस्त थियो । अकस्मात् ‘नारायण नारायण’ भन्दै नारदमुनि स्नान गर्न आइपुग्नु भयो । नारीहरूले हतार हतार आफ्नो वस्त्र समेटेर ऋषिको सत्कार गर्न भ्याए तर पुरुषहरू भने मदिरामा मस्त थिए, होसमा आउन सकेनन् । ती दुई व्यक्ति श्रीमद्भागवत पुराणअनुसार विश्व ब्रह्माण्डकै धनी कुबेरका दुई पुत्र नलकुवर र मणिग्रीब थिए । तिनलाई नारदको श्राप प¥यो र ती दुई युवा वृक्ष भए । दाम+उदर = दामोदर– दाम्लोले पेटमा बाँधिएका भगवान् बालकृष्णकै अर्को नाम हो । त्रेतायुगमा यशोधाले श्रीकृष्णलाई ओखलमा बाँधिदिनुभएको थियो । उक्त दुई रुखमा उक्त ओखल अड्कियो । अड्किएको ओखल तान्दा ती दुई रुख ढले । त्यस स्थानबाट दुई युवा निस्किए । उनीहरूको श्राप मोचन भयो । उक्त डोरीलाई झिकेर फुत्त फालिदिनुभयो । त्यो डोरी पुगेको स्थान नै दामोदर कुण्ड हो । यसरी उक्त डोरीले गर्दा मुक्ति मिलेको हुनाले अर्थात् श्राप मोचन भएको हुनाले दामोदर कुण्डमा पुगेर स्नान गर्नाले मुक्ति प्राप्त हुन्छ । श्राप मोचन हुन्छ । जीवनमा दुःख मोचन गरेर सुखशान्ति प्राप्तिका लागि स्वर्ग जस्तो पवित्र धार्मिकस्थल दामोदर कुण्डको यात्रा गर्नै पर्छ । हुन पनि हामीलाई शुद्ध मनमा जे चिताएर गइन्छ, त्यो प्राप्ति हुन्छ भनेर बाटोमा भेटिएका धेरै यात्रीले सुनाएका थिए ।
कसरी जाने ?
यारा गाउँबाट चार वटा घोडामा हामी अगाडि बढ्यौँ । मुस्ताङ जिल्लाको लोघेकर दामोदर कुण्ड गाउँपालिकालाई चराङ, घमी, घिलिङ, सुर्खाङ र ताङ्ग्या गरी पाँच वटा वडामा विभाजन गरिएको छ । २०७८ को जनगणना अनुसार गाउँपालिकाको कुल क्षेत्रफल १,३४४ वर्ग किलोमिटर र जनसङ्ख्या एक हजार ४२३ रहेको छ । यस पालिकाको उत्तरमा लोमन्थाङ गाउँपालिका, दक्षिणमा वारागाउँ मुक्तिक्षेत्र गाउँपालिका, पूर्वमा मनाङ जिल्ला र पश्चिममा डोल्पा जिल्ला रहेको छ । यसले मनाङ र डोल्पा जिल्ला छुन्छ । लेखक विष्णुप्रसाद शर्मा पराजुलीका अनुसार समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा हिमनदी र दामोदर हिमाल अन्तर्गतका थुप्रै हिमचुचुराले घेरिएको पाटनसहितको उपत्यकामा अवस्थित दामोदर कुण्ड गोलाकारको छ । दामोदर कुण्डमा गोलो आकारको एक चक्र देख्न सकिन्छ । फोटोमा नै उतार्न सकिने चक्र आकारको त्यो पहेँलो चव्रmलाई विष्णुको सुदर्शन चक्र भनेर पनि विश्वास गरिन्छ । कुण्डबाट निस्केको पानीले सुन र चाँदी नामका अन्य दुई कुण्ड निर्माण गरी पश्चिम दक्षिणतिर बग्दछ ।
मुक्तिनाथसम्म आफ्नो सुविधा अनुसार हवाईजहाज, सार्वजनिक यातायात तथा निजी सवारीसाधनबाट सजिलै यात्रा गर्न सकिन्छ । जोमसोमबाट जिपमा आनन्दसँग चराङ हुँदै यारा गाउँसम्म पुग्न सकिन्छ । याराबाट लुरी गुम्बा हुँदै भीमेठाँटीसम्म पनि गाडीको बाटो त बनेको छ तर अत्यन्तै डरलाग्दो छ । त्यसैले याराबाट दुई दिन जान र दुई दिन फर्किन गरी चार दिनका लागि घोडा बुकिङ गर्नु सबैभन्दा राम्रो हुन्छ । औषधी, प्रशस्त खानेकुरा, तातो पानीको थर्मस, न्यानो कपडा, बर्सादी, टेन्ट, ट्रेकिङ किट्स, नक्सा आदि अनिवार्य बोक्नु पर्दछ भनेर लक्ष्मण गोदार थापाले आफ्नो पुस्तकमा लेख्नुभएको छ ।
अनुसन्धान तथा पर्यटन
प्राध्यापक प्रेम शर्माका अनुसार दामोदर कुण्ड क्षेत्र अद्वैत वेदान्तको प्रमाणित दर्शन क्षेत्र हो । आदि पुरुष शङ्कराचार्यको मुक्ति क्षेत्र हो । त्यसैले अद्वैत वेदान्तका विद्यार्थी तथा अनुयायीले अनिवार्य रूपमा भ्रमण गर्नु पर्दछ । वैष्णव, शैव, प्रणामी, मानव धर्मी, जैन, बौद्ध सबैको साझा तीर्थ भएको हुनाले सबैले अनिवार्य पुग्नु पर्दछ । यो क्षेत्रमा शालिग्राम, हिन्दु, बौद्ध, जैन, बोनको धार्मिक, आध्यात्मिक, वैज्ञानिक अध्ययन अनुसन्धान अत्यन्तै आवश्यक छ । द्वापर युगको समाप्तिको समयमा श्रीकृष्णद्वैपायन वेदव्यासले यज्ञानुष्ठानको उपयोगलाई एक वेदको चार विभाग गरे र यी चारै विभागहरूको शिक्षा चार शिष्यलाई दिए । यो नै चार विभाग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको नामले प्रसिद्ध छ । पैल, वैशम्पायन, जैमिनि र सुमन्तु आदि ऋषिहरूले ती वेदको प्रचारप्रसार गरेका थिए ।
वराह पुराण, हिमवतखण्ड, गण्डकी महात्म्यको पाँचौ अध्यायमा स्पष्टसँग लेखिएको छ कि वेद व्यासको जन्म तनहुँ क्षेत्रको व्यास नगरपालिकामा भएको हो । यद्यपि कुलराज चालिसे आफ्नो लेखमा शङ्का गर्नुहुन्छ । थप अनुसन्धान गर्न पाइन्छ तर अब शङ्का गर्नु जरुरी छैन । वेद व्यासको जन्म यही पुण्य भूमिमा भएको हो । हिन्दु सनातन सभ्यताको अझै भन्नु पर्दा गङ्गा तथा सिन्धु नदी किनारमा उत्पत्ति भएका मानव सभ्यताको उद्गम बिन्दु नेपालको गण्डकी क्षेत्र हो । कसले बुझ्ने ? कसले सुन्ने ?
निष्कर्ष
गण्डकी प्रदेश स्वर्ग हो । गण्डकी प्रदेशमा जन्मेको मान्छेले फेरि जन्म मरणको चव्रmमा पर्नु पर्दैन तर गण्डकी महात्म्य बुझेको हुनु पर्छ । मुक्तिनाथदेखि कोरोला पाससम्म नै राम्रो सडक बनिसकेको छ । तिब्बतको मानसरोवर तथा कैलाश पर्वत जान यो मार्ग सबैभन्दा छोटो, सस्तो र सुरक्षित पर्दछ । लाखौँ भारतीय धार्मिक पर्यटकलाई मुक्तिनाथ, दामोदर कुण्ड हुँदै कैलाश पर्वत मानसरोवर पु¥याउन सकिन्छ तर यसतर्फ ध्यान पुग्न सकेको छैन । सम्पूर्ण सनातन हिन्दु सभ्यताको अध्ययन, अनुसन्धान तथा धार्मिक तथा पर्यटनको केन्द्र आज सुनसान छ । सरोकारवाला निकायको ध्यान यसतर्पm आकृष्ट होस् ।