• १३ साउन २०८१, आइतबार

हरित नगर बन्दै कोहलपुर

blog

बाँके समाचारदाता

बाँके, असार १६ गते । बाँकेको कोहलपुर नगरपालिकाले हरित नगरपालिका निर्माणका लागि स्थानीयसँग सहयोग लिने भएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीसँग सहकार्य गरी हरित नगरको अवधारणाले मूर्त रूप लिने बताउनुभयो । नगर प्रमुख आचार्यले भन्नुभयो, “नगर क्षेत्रभित्र वृक्षरोपण गरी सहरी सुन्दरता कायम गर्न आआफ्ना घरपरिसरमा सदाबहार हरियाली हुने एवं सौन्दर्य कायम हुने बिरुवा लगाउन सार्वजनिक अपिल गरेका छौँ ।” 

नगर प्रमुख आचार्यले नगर सभाले समेत हरित कोहलपुरलाई प्राथमिकता दिएको जानकारी दिँदै आमनागरिकको साथ र सहयोगमा मात्रै यसले सफलता पाउने बताउनुभयो । 

यसरी वृक्षरोपण गर्दा कम्तीमा एक सय मिटरको क्षेत्रसम्म एउटै प्रजातिका बिरुवा लगाउनुपर्ने नियम नगरपालिकाले बनाएको छ । केही स्थानीयले सडक किनारामा बिरुवा लगाउनसमेत सुरु गरिसकेका छन् । 

वृक्षरोपणका लागि टोलमा सहमति गरी क्षेत्र यकिन गर्न सडक डिभिजन, नगरपालिकाको नक्सा शाखा र नगर प्रहरीसँग समन्वय गर्न नगरपालिकाले आग्रह गरेको छ । छतिवन, करभिर, बेगमबेली, कपुर, समी, मिनी चमेली, बोटल ब्रस, गुलचिन, टिकुमा, कोकोकार्पस, असारे फूल प्रजातिका बिरुवा प्राथमिकता राख्नुपर्ने छ ।