• १३ साउन २०८१, आइतबार

उत्कृष्ट कृषक नगदसहित सम्मानित

blog

गण्डकी प्रदेशका पुरस्कृत कृषकहरु ।

अमरराज नहर्की

तनहुँ, असार १५ गते । धान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पाँच जना कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । एक जनालाई प्रदेश सर्वोत्कृष्ट र चार जनालाई प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट सम्मान गरेको हो ।  

प्रदेश सर्वोत्कृष्ट पुरस्कार पाउनेमा नवलपुर जिल्लाको देवचुली नगरपालिका–१७ रेनुका कृषि फार्म सञ्चालक गोविन्द बसेल हुनुहुन्छ । प्रदेश उत्कृष्टबाट पुरस्कृत हुनेहरूमा तनहुँको भानु नगरपालिका–१२ चन्द्रावतीका मिर्लुङ बहुउद्देश्यीय कृषि फम प्रालिका सञ्चालक कुसलचन्द्र अधिकारी, लमजुङको मध्य नेपाल नगरपालिका–५ का जङ्गल कृषि फार्मका सञ्चालक इभन जोशी, म्याग्दीका बेनी नगरपालिका–७ ढुङ्गाना कृषि तथा पशुपन्क्षी फार्मका सञ्चालक सुरेश ढुङ्गाना, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ स्थित हाम्रो घर आर्गानिक कृषि तथा पशुपन्क्षी फार्मका सञ्चालक भोजबहादुर तामाङ हुनुहुन्छ ।  

पुरस्कृत किसानहरूलाई कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी र प्रदेश सचिव सहदेवप्रसाद हुमागाईँले प्रदान गर्नुभयो । सर्वोत्कृष्ट एक जनलाई ३० हजार र उत्कृष्ट चार जनालाई जनही २० हजार  प्रदान गरिएको हो । 

कृषकहरूलाई पुरस्कार प्रदान गर्दै मन्त्री जिसीले मन्त्रालय कृषकहरूको समस्या समाधानको लागि सधैँ तत्पर रहेको बताउनुभयो कृषकको मिहिनेत र परिश्रमले देशलाई कृषि उत्पादनमा निर्भर बनाउन सकिने भएकाले किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले ध्यान दिइरहेको बताउनुभयो । पुरस्कृत भएका किसानहरूले कृषि पेसालाई जोगाइराख्ने हो भने युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित हुने गरी नीति तथा योजना बनाउनुपर्ने सुझाव दिएका थिए । 

प्रदेश उत्कृष्ट पुरस्कार पाउनु भएका तनहुँका कुशल अधिकारीले सरकारले कृषि उत्पादनको खरिद गरी बिक्रीको सुनिश्चित गरिदिनु पर्ने, कृषि अनुदानमा वृद्धि गर्नुपर्ने, समयमै मलबिउँ उपलब्ध हुनुपर्ने, सिँचाइको सुविधा विस्तार गरिनुपर्ने, कृषि उपजलाई सरकारले खरिद गर्ने व्यवस्था गर्नुपर्ने, बिमाको उचित व्यवस्था हुनुपर्नेजस्ता माग राख्नुभयो ।