• १३ साउन २०८१, आइतबार

पाँच साहित्यिक पत्रकार सम्मानित

blog

काठमाडौं, असार १५ गते । नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औँ स्थापना दिवसका अवसरमा सङ्घले पाँच साहित्यिक पत्रकारलाई सम्मानित गरेको छ ।

समारोहका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा स्थापित “विशिष्ट राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८० नगेन्द्रराज शर्मालाई प्रदान गर्नुभएको हो । 

यस्तै, राष्ट्रिय पत्रकारिता सम्मान २०८० बाट राम भरोस कापडि भ्रमर, डी.आर.पोखरेल, हिरण्यकुमारी पाठक, खिमानन्द पोखरेल सम्मानित हुनुभएको हो । 

समारोहमा प्रमुख अतिथि कुलपति राईले भन्नुभयो, “हामी नेपाल प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्राज्ञहरू साहित्यिक पत्रकारिताकै परिणाम हौँ । यसैबाट फुलेका, फलेका र प्रस्फुटित भएका हौँ । तसर्थ, मेरो नेतृत्वको प्रज्ञा–प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोषलाई निरन्तरता दिँदै नेपाली भाषा र नेपाली मातृभाषा साहित्यिक पत्रकारिताका विशिष्ट एवम् वरिष्ठ दुई जना साहित्यिक पत्रकारलाई जनही राशि रु. ५०।५० हजारसहित पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय गरेको हो ।

यसैगरी, सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यिक पत्रकार तथा मधेश प्रज्ञा–प्रतिष्ठानका कुलपति रामभरोस कापडि भ्रमरले, “आफूले तिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आएपनि यस हैसियतमा कसैले खोजी गरेनन् तर आज नेपाल साहित्यिक पत्रकार सङ्घले मैथिली भाषामा साहित्यिक पत्रकारिता गरेबापत सम्मान प्रदान भएकोमा खुसी व्यक्त गर्नुभयो । 

समारोहमा अनुपस्थित साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको सम्मानपत्र अर्का साहित्यिक पत्रकार रामप्रसाद पन्तले र खिमानन्द पोखरेलको उहाँका आफन्तले बुझ्नुभयो ।

समारोहमा कुलपति राई, सङ्घका अध्यक्ष मोहन दुवाल, अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे, वियोगी बुढाथोकी, सम्मानित व्यक्तित्वहरू पाठक, भ्रमर र डीआर पोखरेलले आफ्नो मन्तव्य राख्नुभएको हो ।