काठमाडौँ, असार १५ गते । चीनले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सम्झौताको कार्यान्वयनबारे चासो राखेको छ। साथै सम्झौता कार्यान्वयन नभएकोमा ध्यानाकर्षण पनि गराएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणसम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्दै चीनको चासोबारे जानकारी गराउनुभएको हो।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबिच बिहीबार बिहान भेटघाट भएको थियो। उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले आफ्नो १० दिने भ्रमण, त्यसको उपलब्धि र चिनियाँ चासोबारे तयार गरिएको प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभयो। प्रतिवेदनका विषयवस्तुबारे जानकारी दिँदै भेटमा सहभागी प्रतिनिधि सभा सदस्य प्रदीप यादवले भन्नुभयो, “सन् २०१९ मा राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा भएका सम्झौता कार्यान्वयन नभएको भन्ने चिनियाँ पक्षको गुनासो पाइयो। त्यसबारे प्रतिवेदनमा उल्लेख गर्नुका साथै मौखिक रूपमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइयो।”
चीनका राष्ट्रपति सी चिनफिङले २०७६ असोज अन्तिम साता नेपाल भ्रमण गर्दा नेपाल र चीनबिच २० बुँदे सम्झौता भएको थियो।
नेपाल–चीन सीमापार रेल मार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्ने, परम्परागत औषधीमा सहकार्य गर्ने, नेपालको त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने, लगानीमा सहकार्य गर्न कार्यदल स्थापना गर्ने, सुरुङ निर्माणमा सहकार्य गर्नेलगायतका समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
प्रतिनिधि सभा सदस्य यादवले भन्नुभयो, “प्रधानमन्त्रीले नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणबारे खुसी व्यक्त गर्दै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।”
प्रतिवेदनमा दुवै देशको सम्बन्ध थप सुदृढ गर्ने, नेपाली भूमिमा चीनविरुद्धका गतिविधि नहुने र नेपालको विकासमा चीनको सहानुभूति पाएको जस्ता विषयवस्तु समेटिएका छन्। भेटमा अध्यक्ष तिमिल्सिनाले भ्रमणका क्रममा चीनका अधिकारीसँग पोखरा र भैरहवाबाट चीनको ल्हासा र छेन्दुमा सिधा हवाई उडान गर्ने सम्बन्धमा समेत कुराकानी भएको बताउनुभयो।
अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा प्रतिनिधि सभा सदस्य प्रदीप यादव, जीवन परियार, धवलशमशेर जङ्गबहादुर राणा, राष्ट्रिय सभा सदस्य दीपा गुरुङ, उदयबहादुर बोहरा र हरिराम चौधरी सम्मिलित प्रतिनिधिमण्डलले जेठ २६ गतेदेखि १० दिने चीन भ्रमण गरेको थियो। राष्ट्रिय जनकङ्ग्रेसको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डलले चीनको औपचारिक भ्रमण गरेको थियो।
नेपाली प्रतिनिधिमण्डलको भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटघाट भएको थियो। त्यसै गरी चिनियाँ कम्युनिस्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङ र साङ्घाईमा चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हूसँग अध्यक्ष तिमिल्सिनाको शिष्टाचार भेट भएको थियो।