मुकुन्द सुवेदी
बर्दिया, असार १३ गते । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूलाई आफू खुसी विद्यालय शुल्क नलिन निर्देशन दिएको छ । पालिकालाई आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (१‐१० कक्षासम्म) निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले सूचना निकालेर कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा उल्लेख भएबमोजिम विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, कुनै पनि किसिमको परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क, अपाङ्गता भएका बालबालिकाको लागि पाठ्यसामग्री शुल्क, पूर्वाधार निर्माण शुल्क, अतिरिक्त क्रियाकलाप सञ्चालन शुल्क, खेलकुद शुल्क, विज्ञान प्रयोगशाला शुल्क र कम्प्युटर ल्याब शुल्क आदिका नाममा शुल्क नलिन निर्देशन दिइएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टिकानाथ गोसाईंले जानकारी दिनुभयो ।
पालिकाले आर्थिक वर्ष २०८०/८१ मा समेत सशर्त अनुदानतर्फ २६ करोड २० लाख र आन्तरिक स्रोततर्फ शिक्षा, युवा तथा खेलकुद शाखामार्फत खर्च हुने गरी छ करोड २० लाख रुपियाँ विनियोजन गरिएको हुँदा कुनै पनि शुल्क लिनुपर्ने अवस्था नहुने प्रमुख गोसाईंको भनाइ छ । साथै पालिकाले आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह निःशुल्क घोषणा कार्यान्वयनको लागि हरेक वर्ष कुल बजेटको २८ देखि ३२ प्रतिशतसम्म शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको प्रमुख गोसाईंले जानकारी दिनुभयो ।
पालिकाले दिएको निर्देशन विपरीत शुल्क लिइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको चेतावनी दिएको छ ।