• १३ साउन २०८१, आइतबार

पानी नपरेपछि धान रोपाइँ सुरु भएन

blog

पानीको जोहो गर्दै, धान रापाइँ गर्दै किसान । फाइल तस्बिर

रेखीराम राना

पाल्पा, असार ११ गते । पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ हुन सकेको छैन । गत वर्ष यही समयमा पाल्पाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको किसानले बताएका छन् । 

मनसुन सुरु भए पनि पाल्पामा हालसम्म पर्याप्त पानी परेको छैन । केही दिन अघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पानी पर्याप्त हुन नसकेको किसानले बताएका छन् । पानी नपर्दा रोपाइँ गर्न नसकेको माथागढी –२, रुप्से माडीका किसान झपेन्द्र थापाले बताउनुभयो । गत वर्ष यही समयमा माडी फाँटमा २५ प्रतिशत रोपाइँ भएको उहाँले बताउनुभयो । 

पाल्पाको माडी, रामपुर, अर्गली, कचल, पूर्वखोला, झडेवा फाँट गत वर्ष रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष अधिकांश स्थानमा रोपाइँ नै सुरु हुन नसकेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष पानी परेको छैन, किसानले बनाएका धानको व्याड सुक्न थालेका छन् । ब्याड छिप्पिएका छन् । पानी परेको भए किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु गर्थे ।’ आकाशे पानीको भर पर्दा रोपाइँ नै हुन नसकेको ज्ञान केन्द्रको भनाइ छ । 

समयमै धान रोप्न नपाउँदा धान उत्पादन समेत घट्नसक्ने भन्दै किसान चिन्तित बनेका छन् । यो वर्ष मकै उत्पादनमा समेत असर पर्ने र धान उत्पादनसमेत घट्ने तानसेन –९, माडीका किसान तारा ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगत वर्षमा यो बेलासम्म धान रापाइँ गरेर धान हरियो हुन्थ्यो, यो वर्ष कहिले रोपाइँ हुने हो थाहा छैन ।’ 

पाल्पामा नौँ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदैआएको छ । त्यसमध्ये हालसम्म पाँच प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन । व्याड राखेको समयलाई आधार मान्ने हो भने यो वर्ष रोपाइँ १५ दिन ढिला भएको माडीका किसानको भनाइ छ ।