• १२ साउन २०८१, शनिबार

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका नवनियुक्त राजदूतबीच भेट

blog

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसा तिमिल्सिनासँग भेटवार्ता गर्नुहुँदै नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङ । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ११ गते । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेट भएको हो ।

भेटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको जिकिर गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘नेपालका लागि नवनियुक्त कोरियाली राजदूतसँग शिष्टाचार भेट भयो । दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल गर्‍यौँ । यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पुर्‍याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ । कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्नेकुरामा पनि छलफल भयो । यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ ।’’ राजदूतसँगको भेटमा अनुभवहरूको आदानप्रदानका बारेमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।