• १४ वैशाख २०८३, सोमबार

वैदेशिक रोजगारीमा जाने धेरै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १४ गते । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेमा सबैभन्दा धेरै धनुषाका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा धनुषाबाट मात्रै २८ हजार ५८२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । जिल्लागत रूपमा चालु आवको विश्लेषण गर्दा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा पहिलो धनुषा पहिलो र दोस्रोमा झापाका छन् । तेस्रो र चौथो जिल्ला क्रमशः मोरङबाट २३ हजार ३५४ जना र महोत्तरीबाट २० हजार १७२ जना छन् ।  पाँचौँ स्थानमा पर्ने सिराहाबाट १९ हजार ८२४ जना, छैटौँमा सर्लाहीबाट १९ हजार ३७२ जना, सातौँ र आठौँमा क्रमशः रुपन्देहीबाट १८ हजार ३१८ जना र सुनसरीबाट १७ हजार ४२४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।यस्तै नवौँ र दसौँ जिल्लामा क्रमशः सप्तरीबाट १५ हजार २०८ र चितवनबाट १५ हजार ७९ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।