जनार्जन खत्री
सर्लाही, वैशाख १४ गते । सर्लाहीको विकट चुरेभेगमा बारम्बार आएको बाढीले खोलाको बाटो बगाउँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् ।
शनिबार साँझदेखि बेलाबेलामा भएको वर्षाका कारण लालबन्दी र ईश्वरपुर नगरपालिकाको चुरेभेगका गाउँसम्म पुग्ने खोलाको बाटो बगाएसँगै यातायात आवागमन प्रभावित बनेको हो । चुरे क्षेत्रमा सोमबार बिहान पनि थप वर्षा भई खोलामा बाढी बढेकाले सवारी साधन सञ्चालन हुन नसकेको लालबन्दी–नारायणखोला–मरिण रुटका बस व्यवसायी तथा चालक कुमार मोक्तानले जानकारी दिनुभयो ।
सडक नपुगेका लालबन्दी नगरपालिका–१४ नारायणखोला, वडा नं. १५ शीर कालिन्जोर, भित्रीखोला तथा ईश्वरपुर नगरपालिका–१२ शीर फूलजोर, पिपलदमार र लामिदमार क्षेत्रमा लखन्देही, डाइनी, कालिन्जोर, फूलजोर र बाँके खोलाका बगरबाट यातायात सञ्चालन हुने गरेका छन् । एक महिनाको अवधिमा दोस्रो पटक ठुलो वर्षा भई खोलाको बाटो बगाएपछि यातायात सञ्चालनमा कठिनाइ भएको बस व्यवसायी तथा लालबन्दी नगरपालिका–१४ नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार बिहानको वर्षापछि खोलाको बाटो बिग्रँदा नारायणखोला हुँदै सिन्धुलीको मरिणसम्म जाने बस सञ्चालन हुन सकेनन् । आइतबार दिउँसो लालबन्दी बजारबाट मरिणछापतर्फ गएको एउटा बस नारायणखोलास्थित नारायण दोभानमा फसेर रोकिएको पनि उहाँले बताउनुभयो ।
बाढीले खोलाको बाटो बगाएपछि मोटरसाइकल, जीप, बसलगायत कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा चुरेभेगका बासिन्दा लालबन्दी बजारसम्म आउन तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य भएका छन् । गाडी नचलेकाले सोमबार लाग्ने हाटबजारमा आउने स्थानीयसमेत पैदलै आउन बाध्य भएका छन् ।
पानी रोकिएपछि मौसम सफा भएपछि खोलाको बाटो मर्मत गरी बस सञ्चालन गरिने बस व्यवसायीहरूले बताएका छन् । बर्खायाम सुरु भएसँगै खोलामा बाढी आउँदा यातायात अवरुद्ध हुँदा चुरेभेगमा आकस्मिक बिरामी तथा गर्भवतीलाई अस्पताल पु¥याउन कठिन हुने गरेको स्थानीयको गुनासो छ ।
सिन्धुलीसँग सीमा जोडिएको लालबन्दी र ईश्वरपुर नगरपालिकाको चुरेभेगका बासिन्दा दैनिक उपभोग्य वस्तु किनमेल तथा औषधोपचारका लागि पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजार आउने गरेका छन् ।