• १२ साउन २०८१, शनिबार

‘बिग्रेका पक्ष सपार्न लागिपरेका छौँ’: अध्यक्ष नेम्वाङ

blog

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि प्रायोजकको कहिल्यै कमी भएन । यसबाहेक फिफाबाट एन्फालाई वार्षिक रुपमा लाखौँ डलर समेत आए त्यसैले यो संस्था धनी मध्येको एक बनेको छ । अन्य खेल संस्थाभन्दा एन्फा आर्थिक र भौतिक रूपमा सबल छ । तर अहिले नेपाली फुटबलको लोकप्रियतालाई क्रिकेटले चुनौती दिइरहेको छ । फिफाको खातामा रहेको एन्फाको रकम पनि कन्ट्रोल फन्डिङमा हुँदा एन्फा आर्थिक रूपले पनि समस्यामा छ । नेपाल फुटबलमा प्रायोजक पनि पछि हट्दै छ । राष्ट्रिय स्तरका थुप्रै खेलाडी पलायन हुँदा नेपाली फुटबल टिम पनि अहिले रूपान्तरणको अवस्थामा छ । यस्तो स्थिति किन आयो ? एन्फाका अध्यक्ष पङ्कज नेम्वाङ नेपालको खेल हेर्न भारतको बेङ्गलोर आउनुभएको अवसरमा यी विविध पक्षबारे गोरखापत्रकर्मी प्रजित शाक्यले गर्नुभएको कुराकानी :

 तपाईँले एन्फाको नेतृत्व सम्हाल्नुभएको एक वर्ष पूरा भएको छ र यो कार्यकाललाई तपाई स्वयं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

म सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेको व्यक्ति हुँ । अध्यक्ष भइसकेपछि मात्रै सबै कुरा थाहा हुने रहेछ । लामो समय सदस्य र वरिष्ठ उपाध्यक्ष हुँदा धेरै कुरामा म अनभिज्ञ रहेँ । त्यसैले मैले प्रयास गर्दागर्दै पनि सोचेको जस्तो नतिजा प्राप्त गर्न सकेको छैन । एन्फामा धेरैको स्वार्थले भरिएका ठुलो अपेक्षा छन् । जुन पुरा गर्न नसक्दा टिमको रूपमा अलि काम हुन सकिरहेको छैन ।  मैले सबैलाई एकजुट भएर लाग्न आह्वान गरेको छु । एकजुट नभएसम्म सरकार र अन्य निजी संस्थाबाट पनि सहयोग आउँदैन । तर यो विडम्बना हामी एकजुट हुन सकिरहेका छैनौँ र मेरो प्रयास यही भइरहेको छ । नेपालको फुटबललाई माथि उकास्न एन्फा मात्र होइन सबै सरोकारवालाहरू क्लब, प्रशिक्षक, खेलाडी सबैको सहयोग हुनुपर्छ । त्यो हुँदा छिटो विकास हुन्छ । मैदानभित्रको कुरा गर्ने हो भने, दोहोरो लेग संरचनामा घरेलु लिग सम्पन्न भएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले लगातार सहभागिता जनाएको छ । ओलम्पिक क्वालिफायर पहिलो पटक नेपालमा आयोजना भयो । साफ महिला च्याम्पियनसीप नेपालमै भयो । उमेर समूहमा राम्रै नतिजा आयो । यू१४ मा च्याम्पियन भयौँ । यु२० महिलामा नेपाल दोस्रो चरणमा पुग्न सफल भयौँ । यी सबे पक्षलाई हेर्दा म त्यति धेरै असन्तुष्ट पनि छैन ।

साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन हुन सकेन नि ?

साफ च्याम्पियन सीपमा नेपालको स्तर जाँच्ने प्रतियोगिता मानिन्छ । यसपालि भलै कुवेत र भारतसँग नेपाल हार्‍यो । तर नेपालको प्रदर्शन दुवै खेलमा गर्व गर्न लायक थियो । तयारी समय कम हुँदा नयाँ र पुराना खेलाडीबिच तालमेलमा केही कमी भएको हो कि जस्तो लाग्छ । तर कम समयको प्रशिक्षणमा पनि नेपालले कुवेत र भारतसँगै मन जित्ने प्रदर्शन गरेको छ । अब पाकिस्तानलाई हराउने विश्वासमा छु ।

प्रशिक्षण समय कम हुनुमा त एन्फा जिम्मेवार होइन र ?

सबैमा यो भ्रम छ तर वास्तविकता यो होइन । हामीले घरेलु फुटबल लामो समयसम्म चल्नुपर्छ भनेर यसपालि डबल रोउन्डरोविनको संरचनामा खेलाएका हौँ । लिगको मिति साफका लागि पर्याप्त तयारीको समय होस् भनेर नै तय गरेका थियौँ । तर क्लबहरूले बाधा पुर्‍याउँदा भनेको समयमा लिग सुरु गर्न सकेनौँ । जसले लिग ढिलो सुरु भयो र साफ च्याम्पियनसिपका लागि तयारी गर्ने समय पाएनौँ । यसबिच क्लबहरूले पनि खेलाडी रिलिज गरेन । हामीले भनेको समयमा लिग सुरु भएको भए प्रशिक्षण समय लामो हुन्थ्यो र नतिजा अर्कै आउन सक्थ्यो ।


एन्फा र क्लबबिच किन यति धेरै खिचातानी ?

एन्फा र क्लब एउटै परिवार भएर हिँड्नुपर्छ । एन्फालाईं क्लबहरूले नै बनाउने हो । एन्फामा आउने व्यक्ति केही समयका लागि हुन् तर संस्था अनन्तकालसम्म रहिरहन्छ । संस्था बलियो बनाउन क्लब, जिल्लाहरूको सहयोग हुनुपर्छ । नभए एन्फा कमजोर हुन्छ । संस्था बलियो भए मात्र सबै सहज हुन्छ । सुविधा, सहयोग गर्न सक्छ तर यो कुरा भइरहेको छैन । क्लबहरूलाई पनि समस्या छ । पछिल्लो पटककै ए डिभिजन लिग र जिल्ला लिगको पुरस्कार रकम दिन बाँकी छ । हामी आउँदा १५ करोड रुपियाँ ऋण नै थियो । हामीलाई त्यसलाई सात करोडमा झारिसकेका छौँ । फिफाको कन्ट्रोल फन्डिङले पनि यो समस्या भइरहेको छ । जुन हामी आउनु अघिदेखि नै थियो । क्लबहरूलाई यी कुरा बुझाउन सकिरहेका छैनौँ अथवा बुझिरहेका छैन । हामीकहाँ त केही समस्या आउनासाथ क्लबहरूले खेल्दिन भनिदिन्छ । मलाई लाग्छ, फुटबलको विकासका लागि क्लबहरू आफै पनि आर्थिक रूपमा सुदृढ हुन जरुरी छ ।

कन्ट्रोल फन्डिङको समस्या कसरी निम्तियो त ?

विगतमा फिफाको खाताका विधिसम्मत ढङ्गले सञ्चालन हुन नसक्दा एन्फामाथि कन्ट्रोल फन्डिङको लगाम लगाइएको हो । अहिले म नेतृत्वमा आएपछि आएपछि कन्ट्रोल फन्डिङ कसरी हटाउने भन्नेमा लागिरहेको छु । एन्फाको आर्थिक पक्षमा मिहिनरुपमा काम गरिरहेको छु । अहिले यसमा धेरै सुधार पनि भएको छ । हामीले कार्यकाल सम्हाल्दा एन्फामा २० लाख रुपियाँ मात्र खातामा थियो । फिफाको खातामा भने तीन लाख डलरको आसपासमा रकम थियो । तर त्यो रकम आफखुशी चलाउन पाएका छैनौँ । मलाई लाग्छ, चाँडै नै नेपालमाथिको कन्ट्रोल फन्डिङ हट्नेछ ।

अबको योजना के के छन् ?

अब हामी बिग्रेका पक्ष सपार्न लागि परेका छौँ । यसबाहेक नयाँ कार्यक्रममा यु१६, यु१४ महिला र पुरुष फुटबल आयोजना गर्ने योजना छ । महिला फुटबललाई विशेष प्राथमिकतामा राखेका छौँ । नेपालको महिला फुटबलको राम्रो भविष्य देखेको छु । महिला फुटबलको लागि मिसन विश्वकप २०२७–३१ प्रोजेक्ट सञ्चालन हुनेछ । हाम्रो उद्देश्य राष्ट्रिय टिमलाई नै बलियो बनाउने हो । त्यसैले राष्ट्रिय टिम प्रमुख प्राथमिकतामा रहेको छ । गत वर्ष मौरिससको रूपमा नेपालमा पहिलो पटक अफ्रिकी टिम आएको थियो । अब युरोपको केही तल्लो वरीयताका राष्ट्रलाई नेपालमा बोलाएर अन्तर्राष्ट्रिय मैत्री फुटबल खेलाउने योजना पनि छ । महिला र पुरुषको टिमलाई प्रायोजनको तयारी भइरहेको छ । एनएसएल अझ व्यवस्थित हुनेछ । देशव्यापी प्रतिभा खोज गरिनेछ । अन्य पनि धेरै योजना छन् । यसै गरी आर्थिक पक्षलाई सुदृढ पार्न विभिन्न स्रोतको खोजीमा पनि छौँ ।