• १३ साउन २०८१, आइतबार

घोडेपानीमा लालीगुराँस पार्क

blog

घोडेपानीमा निर्माण गरिएको लालीगुराँस पार्क । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुर प्रसाद आचार्य

म्याग्दी, असार, १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क निर्माण गरिएको छ । लालीगुराँस पार्कले घोडेपानी र पुन हिलमा पर्यपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्य लिइएको छ ।  

अन्नपूर्ण पदयात्रामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई घना गुराँसे जङ्गलको अवलोकन गराउने, पर्यटकको बसाइ लम्बाउने र घोडेपानीमा थप पर्यटक आकर्षित गर्ने उद्देश्यले डिभिजन वन कार्यालय मार्फत लालीगुराँस पार्क निर्माण गरिएको हो । घोडेपानीको जङ्गलमा मात्र आठ प्रजातिका गुराँस पाइने गर्दछन् । घोडेपानीबाट २० मिनेटको पदयात्राको दूरीमा रहेको कालीसारस्थित साढे तीन हेक्टर क्षेत्रफलमा लालीगुराँस पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा  सूचना अधिकारी नरबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार पार्कमा चरा अवलोकन केन्द्र,वन्यजन्तुका लागि सानो प्राकृतिक स्वरूपको पोखरी,पदमार्ग र ठुला ठुला अक्षरले गुराँस पार्क लेखिएको सेल्फी बोर्ड बनाइएको छ । 

साथै पार्कमा शौचालय,चरा अवलोकन गर्नेहरूका लागि बेन्च,पर्यटक बस्ने गोलघर र पदमार्ग निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २० लाख र स्थानीय उपभोक्ताको दुई लाख ३४ हजार रुपियाँ बराबरको श्रमदानसहित २२ लाख ३४ हजार रुपियाँ लागतमा पार्क निर्माण गरिएको  लाली गुराँस पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र गर्बुजा पुनले बताउनुभयो  ।  

पार्कभित्र भविष्यमा गुराँसका नयाँ जाति र अनुकूल हावापानीमा हुर्कने फूल रोप्ने योजना रहेको गर्बुजा पुनले बताउनुभयो ।  घोडेपानी र पुन हिलको भ्रमणमा आएका पर्यटकलाई आकर्षित गर्न गुराँस पार्क उपयोगी हुने उहाँले बताउनुभयो ।  अध्यक्ष गर्बुजा पुनले भन्नुभयो, “लालीगुराँस पार्कले घोडेपानी र पुन हिलको भ्रमणमा आएका पर्यटकलाई दुई/तीन दिनसम्म बस्ने वातावरण बनाउने आशा गरेका छौँ ।

बिहानीपख पुन हिलको भ्रमण गरेका पर्यटक दिउँसोमा गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर मनोरम दृश्यावलोकन गरेर पुन घोडेपानी फर्किन सक्छन् ।  प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्ने सुविधा पनि छ । पार्कले पर्यापर्यटनमा योगदान पुर्‍याउने र घोडेपानीमा पर्यटकको बसाई अवधि लम्बिने अपेक्षा गरिएको डिभिजन वन कार्यालयका म्याग्दीका अधिकृत मनोज रानाभाटले विश्वास व्यक्त गर्नुभयो ।