• १३ साउन २०८१, आइतबार

कोहलपुरमा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम

blog

कार्यक्रममा रचना वाचन गर्दै कवि। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार ९ गते। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कवि ज्योति जङ्गलको ‘आधा शिर उचालेर’ कविता सङ्ग्रह पुस्तकको चर्चा गरिएको थियो।कार्यक्रममा विभिन्न साहित्यकारले रचना वाचन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले पछिल्लो समय बाँकेमा साहित्यिक गतिविधि बढेकोमा खुसी व्यक्त गर्दै कवि ज्योति जङ्गलका कवितामा समाजमा बोलेका र माटो बोकेका सिर्जना रहेको बताउनुभयो। 

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले अध्ययन र अभ्यासले साहित्य लेखनलाई स्तरीय बनाउने भएकोले नव सर्जकलाई धेरैभन्दा धेरै पुस्तक पढ्न आह्वान गर्नुभयो।

‘आधा शिर उचालेर’ कविता सङ्ग्रहको समीक्षा गर्दै समालोचक तथा उप प्राध्यापक पुष्कर रिजालले ज्योति जङ्गलका कविताहरू वर्तमान समयका साक्षी भएको बताउनुभयो।

कवि ज्योति जङ्गलले महिलाका संवेदना महिलालाई जति थाहा हुनसक्छ त्यति पुरुषलाई नहुन नसक्ने भएकोले महिला हुनुको नाताले तमाम महिलाका संवेदना लेख्ने प्रयास गरेको बताउनुभयो।

कार्यक्रममा सागर गैरे, सुमित्रा न्यौपाने, चरित्रा शाह, हरि सुवेदी, कल्पना पौडेल जिज्ञासु, रविलाल मिजार, देवकी निरौला, खोपिराम ओली, हुकुम धड्कन, केशव निमेष, चन्द्रावती अधिकारी, ऋषिराम सापकोटा, दामोदर पौडेल, विक्रम शिशिर, प्रकाश मरासिनी लगायत कविले रचना वाचन गर्नुभएको थियो।