• १३ साउन २०८१, आइतबार

मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन

blog

काठमाडौं, असार ९ गते । थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा छ वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’मार्फत रङ्गमञ्चमा प्रस्तुत हुनुभएको छ ।

“चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको छु । आज र भोलि भन्दै छ वर्ष बितिसकेछ । समय मिलाएर नै यसपटक अभिनय गरेको हुँ”, अभिनेता सापकोटाले भन्नुभयो, “केही मञ्चनमा निर्देशन गरे पनि प्राप्त सुझावका आधारमा कलाकार बनेको हुँ । यहाँबाट फेरि केही सिकेर फर्किंने छु ।”

थिएटरबाट नै अभिनयको सुरुआत गरेर भारतीय चलचित्र ‘बर्फी’ मा अभिनय गरिसक्नुभएका अभिनेता सापकोटाले रङ्गमञ्च आफ्ना लागि अभिनयको ऐना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ काम गर्दा आफूलाई चिन्न र बुझ्न पाइन्छ । व्यावसायिक दबाबभन्दा पर रहेर काम गर्दाको आनन्द छुट्टै छ ।”

निर्देशक खनालले तीन पात्रको भेट भएपछिको कथा नाटकमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । “तीन पात्र मात्र नाटकमा छन् । उनीहरूकै यात्रा र त्यहाँ निम्तिने घटना क्रममा नाटक आधारित छ”, उहाँले भन्नुभयो । असार ८ देखि साउन १४ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेता सापकोटासँगै रेणु योगी र गोविन्द सुनारले अभिनय गरिरहनुभएको छ ।

त्यस्तै, मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’ को ११औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ कुमार नगरकोटीले लेख्नुभएको छ । कोराघाट नाटकको कथा ‘कोराघाटका क्रियापुत्री’ मा आधारित छ । कमलमणि नेपालले निर्देशन गर्नुभएको यो नाटक असार २१ गतेसम्म मञ्चन हुनेछ । रासस