• २७ वैशाख २०८१, बिहिबार

राष्कोट नगरले विद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै

blog

राष्कोटको नगरसभामा शुभकामना दिंदै जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा    

कालीकोट, असार ७ गते । कालीकोटको राष्कोट नगरपालिकाले विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १२ औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगरले वडा कार्यालय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको विकासका लागि बृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ । 

नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९–८० का सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम, वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । पर्यटन विकासका लागि देउरामालिका हुँदै बडिमालिका सम्म बाटो निर्माण कार्यलाई प्राथमिकता दिने बताइएको छ । 

नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतीलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ । यस्तै शिक्षातर्फ विद्यालय समायोजन, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र सुरक्षा गार्डलाई पूर्णकालीन बनाइने उल्लेख छ । राष्कोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ४९ करोड बजेट ल्याएको छ । 

नगर उपप्रमुख मनिराज बरालले बजेट प्रस्तुत गर्दै नगरको विकासमा लागि ४९ करोड ९१ लाख १५ हजार सात सय रुपियाँ रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक मन्दीका बीच बजेट कार्यान्वयन गरिने बताउनुभयो ।