• १३ जेठ २०८१, आइतबार

दोलखामा तामाङ मिनी सङ्ग्रहालय निर्माण

blog

तामाङ मिनी सङग्रहालयहरु । तस्विर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, असार ७ गते । दोलखाको वैतेश्वर –६ नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङग्रहालय निर्माण गरिएको छ । बेलायत अध्ययनको क्रममा त्यहाँ म्यूजियमा रहेका महत्वपूर्ण सामानहरुबाट आकर्षित भएर मिनी सङग्रहालय निर्माण गरेको तामाङले बताउनुभयो । 

समाजसेवी, पेशाले चित्रकार र व्यवसायी तामाङले सङग्रहालयमा पुराना ठेकी, पेरुङगो, घुम, हर्पे, लालटिन, प्रेट्रोलमास, ओखल ढिकी, पुराना झ्याल ढोका, झाँक्रीका मूर्तिलगायतका लोमप हुन लागेका वस्तु राख्नुभएको छ ।  यी वस्तुले अवलोकन अनि बुझ्न प्रेरित गर्दछ । त्यहाँ तामाङ संस्कृति झल्किने बुद्धको मूर्ति, लुङदार पनि देख्न सकिन्छ । उहाँका अनुसार पहिला यस्ता वस्तुहरु दैनिक प्रयोग गरिन्थ्यो तर प्लास्टिक, रबर, टिनका भाँडाकुडा आउन थाले पछि यी वस्तुहरू प्रयोग विहीन भएका हुन् । तामाङका अनुसार सङ्ग्रहालय बन्न घर सहित करिब पाँच लाख रुपियाँ खर्च भएको छ । 

सिङ्गापुर, बेलायत जस्ता देशमा बसेर धर्म, संस्कृति, पुराना वस्तुहरुका महत्व बुझ्नु भएका तामाङले भूकम्पले भत्केका घरहरुबाट र केही फालिएको ठाउँबाट सामान सङ्कलन गर्नुभयो र सङग्रहालयको परिकल्पना गर्नुभएको हो । यस्ता पौराणिक वस्तुहरुले हाम्रो संस्कार, इतिहास, धर्म र अनगिन्ती कथा बोकेकाले यसको संरक्षण र सम्वद्र्धन जरूरी महसुस भएकाले सङग्रहालय बन्न पुगेको उहाँको भनाइ छ ।

सङग्रहालय निर्माणले पर्यटकलाई आकर्षित गर्ने तथा शिक्षक र विद्यार्थीलाई पौराणिक वस्तुबारे बुझ्न, सिक्न मद्दत पुग्नुका साथै पुर्खाको जीवन र जीवनयापनका विधि बुझ्न सकिने वातावरण बन्न लागेकोमा स्थानीयहरु प्नि अचम्मित भएका छन् । 

तामाङ मिनी सङग्रहालय नामक सङ्स्था स्थापना गरी विकास तथा विस्तार गर्ने लक्ष्य रहेको छ । घर पनि पुरानै शैलीको बाँसबाट बनाउने र फाराकिलो जग्गा पनि खोेज्जे सोच बनाएको छु । उहाँले भन्नुभयो, “यसलाई स्थानीय सरकारले अहिले खासै चासो दिएको छैन । घचघच्याएर भएपनि केही आर्थिक सहयोग पाए लक्ष्य हासिल हुने थियो ।”