• १२ पुस २०८१, शुक्रबार

कर्णालीमा बाढी पहिरोले झण्डै ३५ हजार प्रभावित हुने आङ्कलन

blog

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय । तस्बिर : नविन सुबेदी

नविन सुबेदी

सुर्खेत, असार ७ गते । यस वर्ष मनसुनजन्य प्रकोपबाट कर्णाली प्रदेशमा झण्डै ३५ हजार ३ सय ३३ जना प्रभावित हुने आङ्कलन गरिएको छ । विगतको तथ्याङ्कलाई  हे र्ने हो भने कर्णाली प्रदेशको रुकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् ।  

कर्णालीमा चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा विपद्का घटनामा परी ६५ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा कर्णालीमा ३ सय ४८ वटा बाढीपहिरोका घटना भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्ष कर्णालीमा २ हजार १ सय ७६ विपद्जन्य घटनामा परी २८ जना बेपत्ता भएका छन् । २ हजार ९ सय ४७ घरपरिवार विस्थापित छन् । यस्तै, १ सय १४ जना घाइते भएका छन् भने ६ हजार २ सय १७ घरमा पूर्ण तथा आंशिक क्षति पुग्दा ६४ करोड ४६ लाख ३१ हजार ७ सय ८४ रुपियाँ बराबरको धनसम्पत्ति क्षति भएको छ । 

चालु आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै विपद्का घटना हुम्लामा भएका छन् । हुम्लामा ९ सय ४० वटा मनसुनजन्य घटनामा परी आठ जनाको मृत्यु हुँदा ६ जना घाइते र ९ सय ४ घरमा क्षति पुगेको छ । घटनामा दुई जना बेपत्ता भएका छन् भने ३ हजार २ सय ८६ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरीको तथ्याङ्क छ ।


यस्तै, डोल्पामा सबैभन्दा कम विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा डोल्पामा १५ वटा विपद्का घटना घट्दा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते हुँदा ३२ परिवार विस्थापित भएको प्रदेश प्रहरीले जनाएको छ । 

यस्तै, सुर्खेतमा ४ सय ३४ वटा विपद्जन्य घटनामा परी १८ जना घाइते भएका छन् भने ३ सय ७९ घरमा क्षति पुग्दा ५ सय ६६ घरपरिवार विस्थापित भएका छन् । कर्णालीको जिल्लागत अवस्था हेर्दा पहिरोको उच्च जोखिमा रहेको दैलेखमा १ सय ६२ विपद्का घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ११ जना घाइते हुँद दुई जना बेपत्ता, १ सय ४९ घरमा क्षति पुगेको छ । 


६ सय ६५ घरपरिवार विस्थापित भएको प्रहरीको तथ्याङ्क छ । सल्यानमा २ सय ३४ वटा घटनामा परी चार जनाको मृत्यु भएको छ भने २ सय ३४ घरमा क्षति पुग्दा ४४ जना घाइते भएका छन् । सल्यानमा ६ सय ४ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, मुगु जिल्लामा ५० घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते र तीन जना बेपत्ता भएका छन् । ४ सय ७१ घरमा क्षति पुगेको छ । ५ हजार ३ सय ८६ परिवार विस्थापित भएका छन् । चालु आर्थिक वर्षमा रुकुम पश्चिममा ७६ वटा मनसुनजन्य घटना भएकोमा चार जनाले ज्यान गुमाएका छन् । ५५ घरमा क्षति पुग्दा ६ जना घाइते भएका छन् । एक जना बेपत्ता छन् । १७ घरपरिवार विस्थापित भएका छन् । जाजरकोटमा ५५ घटनामा चार जनाले ज्यान गुमाउँदा ६ जना घाइते भएका छन् । ३० घरमा क्षति पुगेको र १७ परिवार विस्थापित भएका छन् ।

जुम्लामा ३२ विपद्का घटनामा ११ जनाले ज्यान गुमाउँदा आठ जना घाइते र एक जना बेपत्ता भएका छन् । यस्तै, १ हजार ७ सय १० घरमा क्षति पुग्दा १ हजार ९ सय ५६ घरपरिवार विस्थापित भएका छन् । १ सय ६९ विपद्का घटना हुँदा कालीकोटमा १ हजार ४ सय ७५ घरमा क्षति पुगेको छ भने २४ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । घटनामा परी आठ जना घाइते हुँदा १९ जना बेपत्ता भएका छन् । ७ हजार ४ सय १८ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको भनाइ छ ।

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायाले विपद्पूर्व र विपद्पछिको खोज उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनुभयो । 

सरकारले चालु आर्थिक वर्षमा विपद् पूर्व तयारीका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० लाई अध्यावधिक गरी केही दिनमै लागू गर्ने तयारी गरिरहेको रोकायाले बताउनुभयो । विपद्पूर्व विभिन्न खालका जननेता जगाउने तथा विपद्पछि खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीन वटै सुरक्षा निकाय तथा रेडक्रसको उद्धार टोली हेलिकोप्टरसहित तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । 

कर्णालीमा विपद् घटनामा परेका नागरिकलाई राहत वितरणमा भौगोलिक विकटता, यातायातको असुविधा तथा एकद्वार प्रणाली लागू नहुँदा समस्या हुने उहाँको भनाइ छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा ३ करोड १ लाख र चालु आर्थिक वर्ष २०७९–८० मा ९७ लाख ९ हजार ९ सय २३ रुपियाँ बराबरको राहत सामग्री वितरण भएको महाशाखाका अधिकृत रोकायाले बताउनुभयो ।