• १३ साउन २०८१, आइतबार

राष्ट्रिय कविता महोत्सवमा २५ कविता वाचन हुने

blog

नेपाल प्रज्ञा–प्रतिष्ठान ।

काठमाडौं, असार ७ गते । यही असार ९ गते आयोजना हुन लागेको राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कविका २५ वटा कविता वाचनका लागि छनोट भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गर्न लागेको कविता महोत्सव–२०८० का लागि छनोटमा परेका कविता सार्वजनिक गरेको छ ।

सार्वजनिक कविताको मूल्याङ्कन गरी छनोट समितिले २५ जना कविका २५ वटा कविता वाचनका लागि छनोटमा परेको प्रतिष्ठानले जनाएको छ । छनोटमा परेका कविताहरू यही असार ९ गते शनिबार आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा  वाचन गरिने छन् ।

यी वाचिक कवितामध्येबाट १० जना कविका उत्कृष्ट कवितालाई छनोट गरी पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । यस दशकमै सर्वाधिक कविहरूले नेपाली भाषा/मातृभाषाका कविता पठाएर समावेशी स्वरूपको “राष्ट्रिय कविता महोत्सव–२०८०’’ लाई अनुमोदन गरेका छन् । यसपटक महोत्सवका लागि छनोट भएका २५ वटा कवितामध्ये  मातृभाषामा लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका सात र नेपाली भाषामा १८ वटा कविता छानिएका छन् । यसपटकको राष्ट्रिय कविता महोत्सवमा कविहरूको यस दशककै सर्वाधिक सहभागिता रहेको छ ।

महोत्सवका लागि नेपालीभाषातर्फ अविनाश भट्टराई/पाइतालाहरू, उमा शर्मा/त्यो दिनको तयारी, कमल विवश मगर/कम्ब्याट, कृपाकरुणा पोखरेल/रक्तिम उमेश पुन/छोरी, सिमाना र देश, गोविन्दप्रसाद आचार्य/तिम्रो नजरमा, जीवन आरोही/प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्मा/कविले के सम्झियो ?, दिनेश राई/पोक्ची दिदीको कथा, नवीन अभिलाष/भेरी अभिशप्त बगिरहेछ, पूर्ण सन्ध्या समाधि/खोला र लालीगुराँस, प्रकाश दिप्साली राई/नौरानको नाम, प्रदीप योङहाङ/पृथ्वीको प्रोटेट चित्र, राधिका कल्पित/परिचयपत्र, शर्मिला दुलाल/एउटा गीत, सञ्जित फलाना/आदिवासी डाँडा, सुन्दर शिरीष/एकप्रदेशी बकपत्र, सुवास सङ्गम राई/माटोको उचाइ जस्ता कविताहरू प्राप्त भएका छन् ।

त्यसैगरी, मातृभाषातर्फ लिम्बू मातृभाषामा इन्दु फोम्बो/केसेम्बा निङ्वाहा, खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर (समीप वैरागी)/हुन्के बे बड्डा, नेपाल भाषामा दिलकुमारी डङ्गोल/विश्वासया पःखाः,/चाम्लिङ भाषामा बादलदेवी चाम्लिङ/तोक, थामी भाषामा रमेश थामी “छड्के सलाम’’/झोला, डोटेली भाषामा खिमानन्द जोशी/मूई गोठ नाइँ झान्या हुँ, डोटेली भाषामा पूर्णचन्द्र ओझा/सन्निको मान्स राष्ट्रिय कविता महोत्सव–२०८० का लागि छनोटमा परेका छन् । साथै इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता  प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्‍याएर कविता पठाएको पाइएको छ । त्यसैले, ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता भएका हुन् ।