• १२ पुस २०८१, शुक्रबार

झुन्डिएको तारले बढायो जोखिम

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार ७ गते । रुकुमपश्चिम जिल्ला सदरमुकाम तथा खलङ्गा बजार क्षेत्रमा विद्युत् तार व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढाएको छ।

मुसीकोट नगरपालिका–१, खलङ्गास्थित विद्युत् ट्रान्समिटरदेखि सहिद मैदान, पुष्पलाल चोक हुँदै जिल्ला प्रहरी कार्यालय जाने बजारको मुख्य लाइन र सल्लेतर्फको बाटोमा विद्युतीय तारले दुर्घटनाको जोखिम बढाएको छ। सडक प्रयोगकर्ताले छुन सक्ने गरी विद्युतीय तार लत्रिएको पाइन्छ। सो सम्बन्धमा स्थानीयले वडा कार्यालयमा निवेदनसमेत दिएका छन्। 

विद्युतीय तार मात्र होइन इन्टरनेटका तारसमेत जथाभाबी टाँगिएका कारण सहरको सौन्दर्यसमेत बिग्रिएको स्थानीयले बताएका छन्। स्थानीय व्यापारी खगेन्द्र रसाइलीले बजार क्षेत्रमा लथालिङ्ग अवस्थामा रहेका विद्युत्का तार, अव्यवस्थित रूपमा बनाइएको सडक ब्रेकर र ढल निकासका लागि बनाइएका च्याम्बर व्यवस्थित नभएको बताउनुभयो। सो सम्बन्धमा स्थानीयले लिखित र मौखिक रूपमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएको जनाइएको छ। सर्वसाधारणको सुरक्षा र बजारको सुन्दरता कायम राख्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ। 

पुष्पलाल चोकमा बनाइएको अव्यवस्थित ब्रेकरका कारण दुर्घटनाको जोखिम थपिएको बताइन्छ। ब्रेकर बनाइएको स्थानमा कालोपत्रेसमेत उप्किएको छ। पुष्पलाल चोकनजिकै ढल निकासका लागि बनाइएको च्याम्बरको ढकनी पनि अव्यवस्थित रहेको बताइन्छ। वडाध्यक्ष ज्ञानुचन्द्र चन्दका अनुसार स्थानीयको निवेदन प्राप्त भएपछि विद्युत् वितरण केन्द्रको कार्यालयलाई समस्या समाधानका लागि पत्राचार गरिएको छ। सदरमुकाममा सडक तथा सडकपेटी प्रयोगकर्ताको धेरै आवतजावत हुने स्थानमा नै विद्युत्को तार लत्रिएका कारण जुनसुकै बेला दुर्घटना हुन सक्ने स्थिति छ। वडा कार्यालयले जोखिमको विषयमा पटक पटक सरोकारवाला कार्यालयलाई ताकिता गरिएको तर कार्यान्वयन नभएको जनाएको छ।