• १३ जेठ २०८१, आइतबार

स्थानीय स्वाद र रमझममा रमाउन पाइने अम्बोटे होमस्टे

blog

मुरारी अधिकारी

धादिङ, असार ७ गते । ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पु-याउने उद्देश्यले पछिल्लो समय धेरै होमस्टे सञ्चालनमा आएका छन्। होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै जाँदा ‘होटल’ बन्न थालेको आरोप पनि लाग्ने गरेको छ। 

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाको अम्बोटेमा सञ्चालित गुरुङ होमस्टेले भने स्थानीय उत्पादनलाई बढवा दिँदै पाहुनालाई मौलिक तरिकाले स्वागत गरिरहेको छ। 

धादिङको सदरमुकाम धादिङबेँसीदेखि ३५ किलोमिटर उत्तरमा साबिकको गुम्दीमा रहेको अम्बोटेगाउँ पछिल्लो समय होमस्टेका लागि चर्चित बनेको छ। १६ घर गुरुङ समुदायको बसोबास रहेको यो ठाउँ अहिले गुरुङ होमस्टेका रूपमा परिचित छ। यहाँ सञ्चालित होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, स्थानीय खानपान, सरसफाइ र स्थानीय संस्कृतिको आनन्द रहेको होमस्टे सञ्चालक रूपा गुरुङले बताउनुभयो। गुरुङका अनुसार यहाँ आइपुग्ने पर्यटक गुरुङ संस्कृतिसँग मज्जासँग रम्न पाउँछन्।

यहाँका १६ घरमध्ये नौ घर भूतपूर्व सुरक्षाकर्मीका हुन् भने पाँच घर बहालवाला सुरक्षाकर्मीका हुन्। त्यस्तै एक घरका सदस्य निजामती सेवामा कार्यरत छन्। सरकारी सेवामा रहँदा गरेको मेहनत र अनुशासनलाई आफूहरूले होमस्टेमा प्रयोग गरेको होमस्टे सञ्चालक मानबहादुर गुरुङले बताउनुभयो। फौजीमा हुँदा देखेको र गरेका कामलाई आफ्नै गाउँघरमा प्रयोग गर्दा निकै आनन्द लागेको गुरुङको भनाइ छ। 

अम्बोटे गाउँमा सबैको घर सफा छ। घरवरिपरि र बारीका डिलभरि विभिन्न प्रजातिका फलफूल र खाद्यान्न छन्। मानबहादुर गुरुङले भन्नुभयो, “बोधिचित्त, रातो हलेदो, रुद्राक्ष, अङ्गुर, एभोकाडो, लहरे आँप, स्याउ जस्ता फलफूल हरेकका घरमा छन्। सबै मिलेर योजना बनाउछौँ, फलफूल, बोटबिरुवा र जडीबुटीका बिरुवा ल्याउँछौँ अनि मिलेर लगाउने गरेका छौँ ।”

पाहुनालाई दिने फलफूल, खाद्यान्न तथा मदिरासमेत स्थानीय नै हुन्। यो सत्कारमा पर्यटकसमेत दङ्ग पर्ने गरेको सोही वडाका अध्यक्ष सागर गुरुङले बताउनुभयो। उहाँका अनुसार यस गाउँमा मात्र होइन वडाभरि नै बाहिरी रक्सी बेच्न पाइँदैन। यसले गर्दा वार्षिक लाखौँ रुपियाँ गाउँबाट बाहिर जान रोकिएको अनुभव उहाँले सुनाउनुभयो। यो नियमलाई गाउँपालिकाभरि लागु गर्न दबाब दिइँदै आइएको छ। 

पछिल्लो पुस्तासम्मले होमस्टेबाट नै जीविकोपार्जन गर्न सक्ने गरी दीर्घकालीन योजना बनाएर यसमा लागिपरेको होमस्टे सञ्चालकको तर्क छ। पर्यटकीय सम्भावना बोकेको होमस्टेको लोकप्रियतालाई हेरेर गङ्गाजमुना गाउँपालिकाले पर्यटनसँग गाउँपालिकालाई जोड्ने नीति अनुरूप होमस्टेको पूर्वाधार विकासमा सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो। अम्बोटे होमस्टेलाई जिल्लाको पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले सहयोग गरेको र यहाँका बासिन्दाको मेहनत र इमानदारीबाट प्रभावित हुँदै हिउँदे बजेटमा समेत बाटो निर्माणका लागि रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताउनुभयो।