• ११ असार २०८१, मङ्गलबार

स्वस्थ रहन योग अभ्यास अनिवार्य : प्रदेश प्रमुख मिश्र

blog

योग दिवसको अवसरमा आज जनकपुरधाममा सामुहिक योग अभ्यास गरिदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असार ६ गते । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले रोग लाग्न नदिन नियमित योग अभ्यास अनिवार्य रहेको बताउनुभएको छ । नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार बिहान आयोजित योग अभ्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको योग अभ्यास कार्यक्रममा उहाँले नियमित योग गर्नाले धेरैजसो रोग निको हुनेगरेको बताउनुभयो । स्वस्थ रहन हामी सबैले योग अभ्यास गर्नुपर्ने उहाँको भनाइ छ ।  योगलाई विश्वले अपनाइरहेको समयमा हामीले पनि यसलाई अपनाएर स्वास्थ्य समाज निर्माण गर्नतर्फ अग्रसर हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।  

मधेश प्रदेश सरकार र स्थानीय पालिकाहरूले अगामी दिनमा योगलाई प्राथमिकतामा राखी प्रत्येक टोल र वाडहरूमा योग शिविर स्थापना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले स्वास्थ्य रहन सबैले नियमितरुपमा योग अभ्यास गर्नुपर्ने बताउनुभयो । 

योग गर्नाले मन मस्तिष्क शान्त रहने र यसले स्वास्थ्य समाज निर्माणमा समेत भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव, धनुषका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । 

जानकी पतञ्जलि योगपिठका योगगुरु सन्तोष साहले सहभागीलाई आधा घण्टासम्म विभिन्न प्रकारका योग अभ्यास गराउनुभयो । योगअभ्यास कार्यक्रममा जनकपुरधामका विभिन्न निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

आजै शिक्षा तथा समाज कल्याण मन्त्रालयले जनकपुरधामको राम मन्दिरको प्राङ्गणमा योगअभ्यास कार्यक्रमको आयोजना गरिएको थियो । नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा धनुषाको विभिन्न पालिकाहरूमा छुट्टाछुट्टै योगअभ्यास गरिएको थियो ।