• १३ साउन २०८१, आइतबार

मन्त्री शर्माद्वारा पाँच व्यक्तित्वको टिकटमा टाँचा प्रदान

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुहुँदै । तस्बिर : रासस

 काठमाडौँ, असार ५ गते । आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।      

हुलाक सेवा विभागले अधिकारकर्मी पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’, पर्वतारोही आङ्रिता शेर्पा, कवि माधवप्रसाद देवकोटा र गायिका कोइली देवीको नाममा टिकट प्रकाशन गरेको हो ।        

उहाँहरूको मुखाकृत अङ्कित रु १० दरको टिकट प्रकाशनमा ल्याइएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।        

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो । प्रकाशित टिकटको आजदेखि बिक्री खुला गरिएको छ । दुई लाख थान टिकट प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।          

सो क्रममा मन्त्री शर्माले हुलाक टिकट प्रकाशन गरिएका पाँचै जनाको नेपाली समाजमा विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले सामाजिक तथा साहित्यिक व्यक्तित्वका रूपमा आफ्नो जीवनलाई समाजसेवामा समर्पित गर्नुभएकाले उहाँहरूलाई सरकारले सम्मान गरेको बताउनुभयो ।         

सरकारले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक तथा साङ्गीतिक क्षेत्रको विकासमा योगदान  पुर्‍याउने विशिष्ट व्यक्तित्वको नाममा हुलाक टिकट प्रकाशन गर्दै आएको छ । कार्यक्रममा मन्त्रालयका सचिव तथा टिकट प्रकाशित भएका व्यक्तित्वको परिवारजनको उपस्थिति थियो । रासस