• १३ साउन २०८१, आइतबार

कृषकलाई अनुदानमा कृषि औजार वितरण

blog

कृषकलाई कृषि उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसीलगायत । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, असार ५ गते । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।

उपमहानगरपालिकाले १९ वडाका ६२ जना किसानलाई ४० लाख मुल्य बरावरको कृषी औजार उपकरण वितरण गरेको हो । कृषीमा प्रविधिको प्रयोग बढाउँदै उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ ५० प्रतिशत अनुदानमा कृषि औजार कृषकलाई वितरण गरेको छ । 

५० प्रतिशत अनुदानमा ३६ वटा पावर टेलर, २० वटा मिनी पावर टेलर, एउटा रोडाभेटर र २ वटा थ्रेसर मेसिन उपलब्ध गराएको छ । त्यसैगरी, ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरेको घोराही उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार  एक करोड १९ लाख ८५ हजार रुपियाँमा टेण्डर भएकोमा ९५ लाख ९५ हजार ९९० रुपियाँमा स्वीकृति भएको थियो । नगरको तर्फबाट ४९ लाख ७३ हजार ४६० रुपियाँ कृषकहरुलाई अनुदान दिइएको शाखा प्रमुख धितालले बताउनुभयो । 

कृषकलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तनमा लाग्न  आग्रह गर्नुभएको थियो । कृषिमा आधुनिकीकरणका लागि प्रविधिमा सहयोग गर्ने तर उत्पादनमा वृद्धि हुन नसके उपलब्धी नहुने भन्दै प्रविधिको प्रयोगका माध्यमबाट उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभएको थियो । 

नगर प्रमख चौधरीले भन्नुभयो,‘‘प्रविधिका माध्यमबाट कृषिमा आधुनिकरण गर्न उपमहानगरपालिकाले सहयोग गरेको छ । यसलाई सदुपयोग गर्नुहोला ।’’

उहाँले गोरुले जोतेर खेती पाती गरिरहेका किसानहरुका लागि कृषिमा भित्रिएको यान्त्रिकरणले खेती प्रणलीमा सुधारमा सहयोग पुग्ने बताउनुभएको थियो । 

घोराही उपमहानगरपालिकाले पछिल्नो ४ वर्षमा पालिकाका १ सय ६८ जना किसानहरुलाई विभिन्न औजार उपकरण वितरण गरिसकिएको घोराही उपमहानगरपालिकाको कृषि शाखाका प्रमुख धितालले जानकारी दिनुभएको छ ।