काठमाडौं, असार ५ गते । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक एवम् प्रनितिधि सभा सांसद हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढीपहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
मङ्गलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद पाण्डेले तीन वटै तहका सरकारले बाढीपहिरो पीडितहरुलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
सांसद पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘हालै ताप्लेजुङ, पाँचथर, सङ्खुवासभालगायत पूर्वी पहाडमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । मृतकप्रति श्रद्धाञ्जली र परिवारका सदस्यहरुप्रति समवेदन व्यक्त गर्दै सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीन वटै तहका सरकारलाई शिघ्राधिशिघ्र उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’’
प्रमुख सचेतक पाण्डेले पीडितहरुलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनुभयो ।