• १२ पुस २०८१, शुक्रबार

पूर्वाधार अभावले प्रहरी कार्यालय असुरक्षित

blog

राजु लामिछाने

रुकुमपश्चिम, असार ५ गते । रुकुमपश्चिमका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय भौतिक पूर्वाधार तथा सुविधाको कमीको कारण असुरक्षित बन्दै गएका छन्। प्रहरी युनिट तथा कार्यालयको अवस्था दयनीय रहेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार अधिकांश युनिट चर्किएको भवनका साँघुरो कोठामा छन्। शौचालय, बाथरुम, भान्छाघर जीर्ण छन्। थुनुवा राख्ने ठाउँ छैन, गोदाम, ब्यारेक, हिरासत कक्ष त टाढैको कुरा हो। वर्षा लागेपछि चुहिने समस्या छ। 

चुहिने छानाबाट हतियार जोगाउन गाह्रो छ, हुरी लागेपछि घरको छाना जोगाउन अप्ठ्यारो छ। पानी पुग्दैन, प्रहरी चौकीमा घेराबार छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले भन्नुभयो, “यस्तो अवस्थामा पनि जनताको शान्ति सुरक्षामा प्रहरी प्रतिबद्ध भएर लागेको छ।” 

उहाँले भन्नुभयो, “कति बेला के पर्छ भन्न सकिँदैन, २४ सै घण्टा तैनाथ रहने प्रहरीलाई पूर्वाधार अभावले चुनौती दिइरहेको छ।” आफ्नै भवन नहुँदा असुरक्षित भएर काम गरिरहेको प्रहरीलाई कार्यसम्पादनमा समेत समस्या हुने गरेको भनाइ उहाँको छ। 

धेरैजसो प्रहरी कार्यालय स्थानीयले प्रयोग गरेर छोडेका, जीर्ण भवनमा रहेकाले यस्तो समस्या आउने गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिल्लाभर एक लाख ६६ हजार ३५४ जनतालाई प्रहरीको २९ वटा युनिटले शान्ति सुरक्षा प्रदान गरिरहेको छ।  जिल्लाको शान्ति सुव्यवस्था कायम, अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति राखिएका सात वटा युनिट आफ्नै भवनमा छन्। बाँकी २२ वटा भाडाका घरमा छन्। 

२९ वटामध्ये १३ वटा युनिटको मात्रै आफ्नै जग्गा छ। भाडामा रहेका २२ युनिटले विभिन्न जटिलता तथा कठिनाइका बिच सेवा दिइरहेका छन्। हिउँदको चिसो र वर्षाको पानीमा हतियार जोगाउन प्रहरी युनिटलाई चुनौती थपिने गरेको प्रहरी निरीक्षक खड्काले उल्लेख गर्नुभयो।

 व्यवस्था फेरियो तर पनि प्रहरी भवन बनेन

तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गर्दा २०५२ साल फागुन १ गते ध्वस्त भएको इलाका प्रहरी कार्यालय आठबिसकोटको आफ्नै भवन छैन। कार्यालयको नाममा जग्गा भए पनि भवन नहुँदा जीर्ण र साँघुरो भाडाका घरमा छ। सोही घरबाट नियमित सेवा प्रवाह गरिरहेको प्रहरी निरीक्षक विक्रम सुवेदीले बताउनुभयो। १० वर्षे जनयुद्धको जगमा व्यवस्था बदलिए पनि युद्धको सुरुवातीमै ध्वस्त भएको प्रहरी कार्यालय अहिले पनि ठडिन सकेको छैन। जनताको सुरक्षामा चौबिसै घण्टा तैनाथ रहने प्रहरी कतिसम्म जोखिम मोलेर सेवा दिइरहेका छन् भन्ने गतिलो उदाहरण यिनै कार्यालय रहेका छन्। 

गोतामकोट, खदीलगायत दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा कहाँ सुत्ने, कहाँ खाने र कहाँ कार्यालय सञ्चालन गर्ने भन्ने समेत ठेगान छैन। कतिपय स्थानमा जस्तापाताले भित्ता बेरेको घरमा बसेर प्रहरीले सर्वसाधारणलाई शान्ति सुरक्षा दिँदै आएका छन्।

दिनभर ड्युटीमा खटेपछि राति आराम गर्ने ब्यारेक नहुँदा प्रहरी जहाँ सजिलो प¥यो, त्यहीँ सुत्दै आएका छन्। बलियो घेराबार र भवन नहुँदा मनभित्रै त्रासका कारण आफूहरूले असुरक्षित महसुस गर्ने गरेको भनाइ प्रहरी कर्मचारीको छ। 

सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित भएपछि जनताको सुरक्षा गर्नमा कठिनाइ हुने अधिकारकर्मीको बुझाइ छ। नेपाल बार एसोसिएसन रुकुमपश्चिमका अध्यक्ष रत्नबहादुर खड्काले धेरै स्थानमा अत्यन्त विजोग अवस्थामा प्रहरी बसेको बताउनुभयो। प्रहरीले आफ्नै अधिकार खोज्नुपर्ने अवस्था रहेको समेत उहाँले उल्लेख गर्नुभयो। विकासका अन्य संरचनामा करोडौँका योजना बनाउने बेला सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर सरकारले प्रहरी कार्यालयको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ।