• १३ साउन २०८१, आइतबार

महिला ट्रेकिङ गाइडको क्षमता वृद्धि तालिम सम्पन्न

blog

काठमाडौँ, असार ५ गते । महिला ट्रेकिङ गाइड तथा आरोहीहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

४० जना महिला गाइड र आरोहीहरूलाई तीन दिनसम्म म्याप, कम्पास, जिपिएस प्रयोग (नेभिगेसन) रक क्लाइम्विङ, नट तथा डोरी प्रयोग, ट्रेकिङमा प्रयोग गरिएका सामाग्रीहरूको बारेमा जानकारी गराइएको प्रतिष्ठानका कार्यक्रम संयोजक सपना सुब्बाले जानकारी दिनुभयो । 

पर्यटन क्षेत्रसँग सम्बन्धित भएर निर्माण भएका कानुनहरू र पर्यटक र गाइडसँग सम्बन्धित समसामयिक विषयहरूका बारेमा पर्यटन विभागका निर्देशक युवराज खतिवडाले गाइडहरूलाई जानकारी दिनुभएको थियो ।


यता नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक सञ्जय भट्ट र अनीश दाहाल, गाइड एवम् आरोही पासाङ ल्हामु शेर्पा (अकिता), माउन्टेन गाइड नरेन शाही, गेल्जे शेर्पा, अनुप गुरुङ र छिरिङ जाङबु शेर्पा लगायतले तालिममा प्रशिक्षण गर्नुभएको थियो । जेठ २८ गते देखि काठमाडौँको धुम्वाराहीमा सञ्चालन भएको तालिम जेठ ३० गते सम्पन्न भएको थियो । तालिममा अछाम, रोल्पा, रसुवा, कास्की, सोलुखुम्बु, ताप्लेजुङ लगायतका जिल्लाबाट गरी १६ वटा जिल्लाका महिला गाइडहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । 

तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले राज्यले गाइड विना पर्यटकले पदयात्रा गर्न नपाउने व्यवस्था गरेकाले गुणस्तरीय गाइड उत्पादन र भएका गाइडलाई तालिम दिएर योग्य बनाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले पर्यटन क्षेत्रको प्रभावकारी प्रवर्द्धन गर्न गाइडको मुख्य भूमिका हुने र नीतिगत रूपमा भएका कमी कमजोरीलाई सच्याएर लाने बताउनुभयो ।