काठमाडौँ, असार ५ गते । राष्ट्रिय मानव अधिकार आयोगले सम्पूर्ण नागरिकको नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवं व्यक्तिको पहिचानको विषयलाई संवेदनशील रूपमा लिन आग्रह गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले माइतीघर मण्डलामा धर्नामा बसेकाको अवस्थाबारे स्थलगत अनुगमन गरेपछि सरकारलाई सो विषयमा ध्यानाकर्षण गराएको हो । आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जन्मसिद्ध नागरिक भएका व्यक्तिका सन्तानलाई नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित गर्न नहुने बताउनुभयो ।
सोमबार आयोगका तर्फबाट जारी विज्ञप्तिमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र र संविधानले व्यवस्था गरेको कानुनी प्रावधानका बाबजुद नागरिकता प्राप्तिका लागि धर्ना, आन्दोलन एवं आत्मदाहको प्रयास गर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक राज्यका लागि अत्यन्तै दुःखदायी स्थिति रहेको उल्लेख छ । माइतीघर मण्डलामा १६ वर्षदेखि ३५ वर्षसम्मका नागरिकता पाउनबाट वञ्चित व्यक्ति गत जेठ २२ गतेदेखि धर्नामा बसिरहेका छन् ।
नागरिकताको विषय नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेसा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्यायलगायत हरेक पक्षसँग जोडिएको बताउँदै आयोगले अनुगमनका क्रममा समयमा नागरिकता नहुँदा उच्च शिक्षा अध्ययन, वैदेशिक रोजगारी, नेपालमै रोजगारी तथा पेसा व्यवसाय गर्न नपाएको जनाएको छ ।