• २७ वैशाख २०८२, शनिबार

महिला सशक्तीकरणबारे परामर्श

blog

काठमाडौँ, असार ५ गते । राष्ट्रिय महिला आयोगले सीमान्तकृत महिलाको सशक्तीकरणका विषयमा सरोकारवालासँग छलफल गरेको छ । आयोगद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले संवैधानिक र अन्य विभिन्न आयोगले सम्बन्धित र समाजमा पिछडिएका वर्गका महिलाको अवस्थाको छुट्टाछुट्टै अध्ययन गर्दै राज्यको विशेष ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो । 

महिला अधिकारकर्मी यशोकान्ति भट्टचनले सीमान्तकृत महिलाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै विविध जाति, समुदायको बसोबास रहेको नेपालमा आदिवासी, दलित, यौनिक अल्पसङ्ख्यकलगायत जात, समुदायभित्रै पनि सीमान्तकृत अवस्थामा रहेका वर्गको मिहिन अध्ययन गरेर त्यस वर्गलाई शिक्षा, स्वास्थ्यमा प्राथमिकता दिएर समानतामा पु-याउन एकजुट हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सीमान्तकृत महिलाको अधिकार प्रवर्धनका लागि राज्यलाई सिफारिस गर्न सरोकारवालासँगै छलफल गरी निष्कर्ष निकाल्ने लक्ष्यले आयोगले काम गरिरहेको बताउनुभयो । 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगहरूले सम्बन्धित समुदायमा पनि पिछडिएका वर्गको अध्ययन गर्दा नेपाली समाजमा पछि परेका सीमान्तकृत महिलाका लागि कार्यक्रम तर्जुमा गर्न राज्यलाई सिफारिस गर्न सकिने सुझाव दिनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्थानीय जनप्रतिनिधिले स्थानीय समस्यालाई नजिकबाट नियालेका हुन्छन् भन्दै आफ्नो क्षेत्रका सीमान्तकृत वर्गका महिलाको सशक्तीकरणका लागि स्थानीय तहले नै पहल गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य उर्मिला माझीले नेपाली महिलाको अवस्था विगतभन्दा धेरै अर्थमा राम्रो भए पनि भौगोलिक विकटता र स्रोतसाधनको अभावमा सीमान्तकृत जीवन बाँच्नेको सङ्ख्या धेरै नै रहेकाले यसतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।