• ५ जेठ २०८१, शनिबार

औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव छैन : कार्यवाहक सभापति खड्का

blog

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का । फाइल तस्बिर

काठमाडौं, असार ४ गते । उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताउनुभएको छ । 

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उहाँले कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्नसके मात्रै रूपान्तरण सम्भव भएको बताउनुभयो । उहाँले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको बताउनुभयो ।

उहाँले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताउनुभयो । उहाँले पार्टीमा सबैले निष्ठाको सङ्कल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गर्नुभयो । कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ ‘मेरा कमजोरी र गल्तीहरूलाई सच्याएर, स्विकारेर म रूपान्तरणका लागि तयार हुने की नहुने ? म रूपान्तरण हुन तयार हुने हो । व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा । सबै शैलीमा म रूपान्तरण हुन तयार हुने हो, सच्याएर रूपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रूपान्तरणको प्रक्रिया सुरु हुन्छ, चाहे पार्टीको होस्, रूपान्तरणको प्रक्रिया सुरु हुन्छ ।’’ 

उहाँले भन्नुभयो, ‘‘पार्टी पनि निर्जीव छ, सरकार पनि निर्जीव छ, त्यसलाई जीवित बनाउने भनेको पार्टीमा नेतृत्व लिने केन्द्रदेखि वडा टोलसम्मका नेताहरूको निर्णय प्रक्रिया, काम गर्ने प्रक्रिया जीवनशैली, प्रक्रिया शैली सबै कुरामा निर्भर रहन्छ भने देशको पनि मुलुकको प्रधानमन्त्री लगायत मन्त्रीहरू, शासनमा रहेका जिम्मेवारी बोकेका सबैको भूमिका कर्तव्यबाट यी कुराहरू निक्र्यौल हुने भएकाले हामी सबैले मम भन्दै मुलुकको अहिलेको परिस्थिति, पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर त्यसलाई अत्यन्त तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिन्छ ।’’

उहाँले भन्नुभयो, ‘‘औँला ठड्याएर होइन, आफूलाई औँला ठड्याएर, यो सुधार परिमार्जन, पुनः निर्माण, रूपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबै कुरालाई प्रकट गर्छु भन्ने इमानको सङ्कल्प, निष्ठाको सङ्कल्पसहित समर्पित गर्ने बेला आएको छ । त्यसैबाट मात्रै मुलुकमा आएको निराशा, मुलुकमा देखिएको अविश्वास, अहिलेको परिवर्तनलाई हल्लाउन खोज्ने सबै कुरालाई ठेगान लगाएर जुन हामीमा रूपान्तरणको आवश्यकता छ । हाम्रो पार्टीमा पनि समयसापेक्ष बदलाव आउँछ ।’’

उपप्रधानमन्त्री खड्काले नयाँ संकलबाट सबै एकताबद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताउनुभयो ।