• २९ वैशाख २०८२, सोमबार

सहरी विकासमन्त्री गुरुङद्वारा गुह्येश्वरीस्थित ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन

blog

सहरी विकासमन्त्री सिता गुरुङ । फाइल तस्बिर

काठमाडौं, असार २ गते । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ । शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुग्नु भएको मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गर्नुभएको हो ।

सो प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न र प्लान्ट निर्माणको क्रममा भएका गल्ती कमजोरीहरू फेरि दोहोरिन नदिनका लागि आफूले सो प्लान्टको अनुगमन गर्नु परेको मन्त्री गुरुङले बताउनुभयो ।

उहाँले सरकारले अन्य सात वटा त्यस्तै खालको प्लान्टहरू पनि निर्माण गर्ने चरणमा रहेकाले त्यसलाई प्रभावकारी ढङ्गले अघि बढाउन पनि यस प्लान्टबाट सिकेर अघि बढ्नु उपयोगी हुने समेत स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले सो प्लान्टबाट मात्रै बागमती नदीको पानी सफा हुन्छ भन्ने सोचाई राख्न नहुने पनि बताउनुभयो । सो पानीलाई फोहोर बनाउने ढललगायतका अन्य बस्तुहरूको पनि उचित व्यवस्थापन गरेर मात्रै बागमती नदीलाई सफा राख्न सकिने उहाँको भनाइ थियो ।

मन्त्री गुरुङले भन्नु भयो, ‘‘नेपालमा पहिलो ट्रिटमेन्ट प्लान्ट भएको कारणले गर्दाखेरी यो सम्भव छ भन्ने कुरालाई यसले प्रमाणित गरेको छ । र यसलाई नै हामीले आधार बनाएर अरू सात वटा निर्माणको चरणमा छ । त्यो हिसाबले गर्दाखेरी हामीले प्रभावकारी ढङ्गले अगाडि बढाउन सक्यौँ भने राम्रै हुन्छ । पहिलो फेज, दोस्रो फेजबाट भएको गल्ती कमजोरी कहाँ भएको छ भन्ने कुरालाई सच्याउँदै हामीले नयाँ प्लान्ट बनाउनु आवश्यक छ ।,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘फोहोर व्यवस्थापनमा यहाँ फिल्टर गरेर मात्रै हुन्छ भन्ने चाहिँ होइन । हामीले त्योसँग जोडिएर आउने एकीकृत अन्य सरोकारका विषय के छन् ? भन्ने कुरालाई नहेरीकन, त्यसलाई नकेलाईकन, त्यसको समाधानको बाटो नखोजीकन यही फिल्टर गरेरै पानी सफा हुन्छ भन्ने ठान्यौँ भने त्यो सम्भव छैन । तर मलाई के लाग्छ भने यही नदीसँग जोडिएको हरेक ठाउँमा चाहिँ ढल मिसाउने, फोहोरहरू नदेखिन समयमा ल्याएर मिसाई दिने यी कारणले गर्दाखेरी समस्या भएको छ । ढललाई सकेसम्म सेप्रेट नै गर्न सक्यौँ भने यहाँ मात्रै होइन सबै ठाउँमा त्यसरी गर्न सक्यौ भने हामीले गरेको कामलाई प्रभावकारी बनाउन सकिन्छ ।’’

मन्त्री गुरुङलाई सो प्लान्टबारे अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका पदाधिकारीहरूले जानकारी दिएका थिए । सरकारले काठमाडौंको बागमती नदीलाई सफा राख्नका लागि फोहोर पानी प्रदूषण प्रशोधन प्लान्टको निर्माण कार्यक्रमलाई चरणबद्ध रूपमा अघि बढाउने गरी आवश्यक नीति तथा कार्यक्रम र बजेट तय गरेको छ ।