• २९ वैशाख २०८२, सोमबार

बिहेभोज खाँदा सय बढी बिरामी

blog

विहेभोज खाएर विरामी भएकाहरु अस्पतालमा उपचार गराउँदै ।

विजयकुमार साह 

ढल्केबर, वैशाख २९ गते । धनुषाको मिथिला विहारी नगरपालिका –८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले खाजामा बाँडिएको बुनिया, रसबरी लगायतका परिकार खाएपछि पेट दुख्ने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएको बताउनुभयो । 

उहाँका अनुसार आइतबार राति  जनकपुर उपमहानगरपालिका –२३, बिन्धीबाट जन्ती ठेरा कचुरी पुगेका थिए । विवाहको स्वयम्बर कार्यक्रम सकिए लगत्तै खाजा वितरण गरिएको थियो । खाजा खाएपछि केहीबेरमै धेरै जनामा स्वास्थ्य समस्या देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ । 

उहाँले भन्नुभयो, “अहिलेसम्म ४५ जना प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् । अन्य बिरामी विभिन्न क्लिनिक तथा निजी अस्पतालमा उपचाररत छन् ।” केही बिरामी भने सामान्य उपचारपछि घर फर्किएको उहाँको भनाइ छ ।

जनस्वास्थ्य प्रमुख यादवले खाजाको घटनास्थलबाट खाजाको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताउनुभयो । परीक्षणपछि खाजा कसरी बिषाक्त भएको भन्ने विषयमा निष्कर्ष आउने उहाँले जानकारी दिनुभयो ।