कविराज घिमिरे
हिले, वैशाख २९ गते । किरात समुदायको प्रमुख चाड साकेला (उभौली) पर्व धनकुटाका बिभिन्न स्थानमा मनाइएको छ ।
धनकुटाको हिलेस्थित चिया बगान टोलमा स्थानिय भेला भएर भब्यरुपमा मनाएका छन् । त्यस्तै सिधुवा, चौबिसेको राजारानीमा उभौली मेलानै लागेको छ ।
धनकुटाकै लेउती पाख्रिवास लगायत किरातको बसोवास रहेको स्थानमा धुमधामका साथ पर्ब मलाइएको हो । किरात समुदायमा तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ ।
साकेला उभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ ।
साकेला उभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उभौलीको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरीएको जनजाती महासघं धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले जानकारी दिनुभयो ।
छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरूवाल, ढाका टोपीलगायत किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गरेको धनकुटा हिलेका बिकास मुखियाले जानकारी दिनुभयो ।
चराचुरूङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारूहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उधौली–उभौली मनाइन्छ । खुला आकाशमुनि ठूलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।