• २७ वैशाख २०८१, बिहिबार

बाढीपहिरो रोक्न गाउँवासीको कचहरी

blog

गाउँको समस्या समाधानका लागि कचहरीमा सहभागी पलाँताका नागरिक । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असार २ गते । कालीकोटको पलाँता गाउँपालिकामा पर्यावरणीय कृषि प्रणाली र बाढीपहिरो न्यूनीकरण गर्न कचहरी बसेको छ । किर्डाक नेपालले पलाँता गाउँपालिकाको समन्वय र मिसन इष्टको प्राविधिक सहयोगमा बाढी पहिरोबाट जोगिन गाउँस्तरवाट कसरी प्रयासका विषयमा छलफल गर्न कचहरी गरेको हो । 

कचहरीमा पलाँतामा पर्यावरणीय कृषिको प्रवर्द्धन बाढीपहिरो न्यूनीकरणका लागी पालिका, सङ्घ संस्था र सरोकारवालाको भूमिकाका बारेमा छलफल भएको छ । पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले आगामी वर्षको नीति तथा कार्यक्रम कृषि र बाढी पहिरो प्रभावित क्षेत्रको पुनरुत्थानलक्षित गरेर ल्याउने बताउनुभयो । 

कचहरी (सामूहिक छलफल) मा सहभागी जनप्रतिनिधिले पलाँता गाउँपालिकाको विपद् प्रतिकार्य योजना बनाउने, विपदबाट पूर्ण र आंशिक रूपमा क्षतिग्रस्त घरहरूको पुनर्निर्माणका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गर्ने, पलाँता गाउँपालिका भित्रका क्षतिग्रस्त सिँचाइ कुलो र पोखरीको मर्मत र निर्माणका लागि आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्राथमिक रूपमा राख्ने प्रतिबद्धता गरेका छन् । 

कचहरीमा उठेका विषयमा छलफल गर्दै अध्यक्ष रोकायाले आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा क्षतिग्रस्त जमिनको पुनर्निर्माणलक्षित बजेट ल्याउने, जलवायुमैत्री कृषि प्रणालीको प्रवर्द्धनका लागि आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जोड दिने, उत्पादकत्व वृद्धिका लागि आगामी वर्ष माटो परीक्षणको काम गर्ने, पकेट क्षेत्रको कार्यक्रमलाई निरन्तरताका साथै विस्तार गर्ने र सङ्घ संस्थासँग सहकार्य गरी कृषि र बाढीपहिरो न्यूनीकरणका काम गर्नेबारेमा पालिका सहमत भएको बताउनुभयो । 

लामो समयदेखि विकासका साथै क्षमता विकासको क्षेत्रमा काम गरिरहेको किर्डाक नेपालका परियोजना संयोजक पदम कठायतले जिविकोपार्जनउन्मुख कार्यक्रम सञ्चालनका लागि गाउँपालिका तयार रहेकाले आफ्नोतर्फबाट सहयोग रहने बताउनुभयो । गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत कर्मसिंह बमले पलाँतामा गैरसरकारी संस्थाको राम्रो भूमिका रहेको बताउनुभयो ।