• १३ साउन २०८१, आइतबार

समावेशी राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता दर्ता

blog

नेपाल प्राज्ञ–प्रतिष्ठान ।

काठमाडौं, असार २ गते । नेपाल प्राज्ञ–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन् । महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४ वटा गरी ८९२ वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् ।

२०२२ सालदेखि सुरु गरिएको राष्ट्रिय कविता महोत्सवको इतिहासमा यो पछिल्लो दशक यता निरन्तर खस्किरहेको कविहरूको आकर्षण यसपल्ट एक्कासि उक्सिएको छ ।

५८ वर्षे लामो राष्ट्रिय कविता महोत्सवको परम्परा र प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गरेर यस पटकदेखि प्रज्ञा–प्रतिष्ठानले समावेशी सहभागितामूलक सिद्धान्तअनुसार सबै “नेपाली भाषा/मातृभाषा/कविताहरूलाई आह्वान गरेको थियो ।

“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’’ भन्ने नाराका साथ प्रज्ञा–प्रतिष्ठानलाई सारा  नेपालीको साझा थलो बनाउने योजनाको प्रमुख कडी भनिएको छ । यस राष्ट्रिय कविता महोत्सवको यही नारालाई आत्मसात् गरेर यस पटक यो दशककै सर्वाधिक सङ्ख्यामा कविहरूले महोत्सवमा सहभागिता जनाउन लागेका हुन् ।

यसपटक राष्ट्रिय कविता महोत्सवमा नेपाली, संस्कृत, डोटेली, वाम्बुले राई, वान्तवा राई, लिम्बु, कुलुङ, अवधि, मगही, मगर(खाम), राजवंशी, उरावँ, मैथिली, ल्होमी, धिमाल, माझी, कठरिया(थारु), पुमा राई, गुरुङ, नाछिरिङ, वायुङ/बाहिङ, सामपाङ, नेपालभाषा, चाम्लिङ राई, तामाङ, ताजपुरिया, शेर्पा, थुलुङ, दुङ्माली, खस हुम्ली, घले गुरुङ, भोजपुरी, मध्य पूर्वीय थारु, पूर्वी थारु, थारु र दमाई लगायतका ३६ वटा भाषामा रचिएका कविताहरू राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त भएका छन् ।