काठमाडौँ, असार २ गते । गोरखापत्र संस्थान र राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारका विविध विषयलाई संयुक्त रूपमा प्रवर्धन गर्ने भएका छन्।
आयोगका सहसचिवद्वय डा. टीकाराम पोखरेल र सम्झना शर्मा, मानव अधिकार अधिकृत दुर्गा पोखरेललगायतका पदाधिकारीसँग शुक्रबार भएको छलफलका क्रममा सहकार्य गरेर मानव अधिकारका विषयमा हातेमालो गरेर अघि बढ्ने समझदारी भएको हो।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकार्यको छुट्टै प्रारूप तयार पारेर भविष्यमा सहकार्य गर्न सकिने बताउनुभयो। उहाँले मानव अधिकार आफैँमा गम्भीर विषय भएकाले गोरखापत्रका सबै प्रकाशनले ती विषयलाई महत्व दिने गरेको स्पष्ट पार्नुभयो।
उहाँले कार्यालयभित्रको मानव अधिकारमैत्री वातावरण निर्माण गर्नु र राष्ट्रिय दायित्वका रूपमा मानव अधिकारका विषयमा आमजनतालाई सुसूचित गराउन कुनै कसर नराखेको बताउनुभयो।
आयोगका सहसचिव डा. टीकाराम पोखरेलले मानव अधिकारका विषयलाई अझ प्रभावकारी ढङ्गले प्रकाशन तथा प्रवर्धन गर्ने उद्देश्यले प्रकाशन संस्थाहरूसँग सहकार्य गर्ने नीति अनुसार छलफल सुरु गरिएको जानकारी दिनुभयो। त्यस्तै सहसचिव शर्माले मानव अधिकारका विषयमा खोजमूलक समाचारमा जोड दिन सुझाव दिनुभयो।
सो अवसरमा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले नियमित समाचारका रूपमा सहकार्य जारी रहेको औँल्याउँदै संस्थागत रूपमा सहकार्य गर्न प्रारूप बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै दी राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलियाले आयोगले अन्तक्र्रिया र आफ्ना अध्ययन प्रतिवेदनको पहुँचलाई अझ सहज बनाएर सहयोग गर्न सकिने बताउनुभयो।
प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालले संस्थानले मानव अधिकारमैत्री वातावरणको सुनिश्चितता गरेको जानकारी दिनुभयो। आयोगले सुरु गरेको अभियानले मानव अधिकारमैत्री मिडिया र समाज निर्माणमा सघाउने उद्देश्य लिएको जनाइएको छ।