सम्बन्ध भनेको साँचो प्रेम, विश्वास, अनि पारस्परिक समझदारीको अमूल्य बन्धन हो तर हरेक सम्बन्धमा यस्तो एउटा प्रजाति भेटिन्छ, जसले आफ्नो जिन्दगीको मूल ध्येय नै अरूको सम्बन्ध बिगार्ने बनाएको हुन्छ । यी महानुभावहरू ‘भँडुवा’ अर्थात् ‘सम्बन्ध बिगार्न खोज्ने’ हुन् । यिनीहरूबिना संसार के नै हुन्थ्यो र ? कति जोडी झगडै नगरी मिल्थे, कति प्रेमकथाबिना कुनै नाटक सुखद अन्त्यतिर जान्थे, अनि कति दम्पती बिनाटाउको दुखाइ माया साट्थे तर हाम्रो समाजलाई यस्तो सन्तुलन पटक्कै सुहाउँदैन । त्यसैले नै भँडुवाहरूको अस्तित्व आवश्यक छ– ताकि प्रेमीप्रेमिका, श्रीमान्श्रीमती, साथी र सहकर्मी सधैँ कुनै न कुनै नाटकमा मुछिइरहून् ।
अब यी भँडुवाहरू के के गर्छन् त ? अनि कसरी यी पवित्र सम्बन्ध–भञ्जक आत्माले अरूको जीवनमा नकारात्मक सन्देश छर्ने गर्छन् ? यो जान्नु जरुरी छ । साथै जान्नु जरुरी छ यी भँडुवाहरूको प्रकार । हो, सही पढ्दै हुनुहुन्छ तपाई, भँडुवाहरूको अस्तित्व कुनै एकै प्रकारको हुँदैन । यी विभिन्न हुन्छन्, जसलाई हामी पाँच मुख्य प्रकारमा बाँड्न सक्छौँ–
‘सल्लाह–विशेषज्ञ’ भँडुवा
यी भँडुवा अरूको सम्बन्धबारे अनावश्यक चिन्ता लिने प्रवृत्तिका हुन्छन् । आफैँ एक्ला छन् तर अरूको प्रेम जीवनबारे दिनहुँ एक सयभन्दा बढी सल्लाह दिन्छन् । उदाहरणका लागि तपाईंको प्रेमिका/प्रेमी अलि ढिला रिप्लाई गर्छन् भने यी भँडुवा तुरुन्त भन्न थाल्छन्, “ल हेर, पक्का अरू कसैसँग कुरा गरिरहेकी/रहेको छ !; त्यसपछि तपाईंको दिमागमा शङ्का रोप्न सुरु गर्छन्, अनि बिस्तारै सम्बन्ध डामाडोल बन्न पुग्छ ।” तपाईंको सम्बन्धमा आएको चिसोपनाले यस्ता भँडुवालाई जनवरी महिनामा घामको न्यानोमा रमाएको जस्तो अनुभव हुन्छ । आफ्नो यस्तो सफलतामा रमाउने यी भँडुवा तपाईंको नजिक भएको दाबी गर्छन् अनि तपाईंको सबैभन्दा भलो चाहने पनि यिनीहरू नै हो भन्ने गर्छन् ।
‘गोप्य उजागर गर्ने’ भँडुवा
यी भँडुवा जासु्सभन्दा कम हुँदैनन् । तपाईंको सम्बन्धमा भएको सानो झगडालाई फूलबुट्टा भरेर पूरै संसारलाई सुनाउन आतुर रहने यी भँडुवा तपाईंकै वरिपरि तपाईंकै चियोचर्चो गर्दै बस्ने गर्छन् । रमाइलो कुरा त के भने उनीहरूको चियोचर्चोको तपाईंलाई कुनै खबर नै हुँदैन । उदाहरणका लागि तपाईंको श्रीमान्श्रीमतीसँग सानो झगडा भएमा यी भँडुवा तुरुन्तै साथीभाइहरूसँग भन्न थाल्छन्, “ल हेर, सुरु भयो फेरि ! अब त सम्बन्ध नै टुङ्गिन्छ जस्तो
छ !” अनि तपाईंले थाहा नपाउँदै, सिङ्गो समाजलाई तपाईंको व्यक्तिगत समस्याबारे पूर्ण जानकारी भइसकेको हुन्छ । यस्ता भँडुवा यसैलाई आफ्नो जित भन्ठान्छन्, अनि यसैमा रमाउँछन् । नजिकका साथी र परिवारभित्रै रहने यस्ता भँडुवा तपाईंसामु एउटा विश्वास पात्र भएर प्रस्तुत हुन्छन् अनि ‘मुखमा राम राम, बगलीमा छुरा’ भन्ने उखानलाई चरितार्थ पार्छन् ।
‘झुटको फ्युज हाल्ने’ भँडुवा
यी सबैभन्दा खतरनाक प्रजातिका भँडुवा हुन् । यिनीहरूको लक्ष्य भनेको केवल नक्कली कथा बनाउने अनि तपाईंको सम्बन्धलाई पूर्ण रूपमा तहसनहस पार्ने हुन्छ । यिनीहरू पनि नजिकका साथी र परिवारभित्रै रहने अनि तपाईंसामु एउटा विश्वास पात्र भएर प्रस्तुत हुने खालका हुन्छन् । यिनीहरूको थ्योरी पनि ‘मुखमा राम राम, बगलीमा छुरा’ भन्ने नै हो । उदाहरणका लागि तपाईंले सहकर्मीसँग चिया पिउँदै गर्नुभएको साधारण गफलाई यी भँडुवाहरू, “ल हेर, उसको अफेयर चल्दै छ !” भनेर प्रचार गर्छन् । अनि विचरा तपाईं निर्दोष हुनुहुन्छ भन्ने प्रमाणित गर्न एकदमै कठिन हुन जान्छ । यसरी सुरु हुने चिसोपनाले कहिलेकहीँ राम्रो सम्बन्ध पनि बिग्रिन जान्छ । बिग्रिएको सम्बन्धको गणना गर्दै बस्ने यस्ता भँडुवा जति जति गणना बढ्दै जान्छ, उति उति खुसी हुँदै जान्छन् । उनीहरूको सफलताको राज यसैमा लुकेको हुन्छ ।
‘जलन भएको’ भँडुवा
यी भँडुवालाई केवल डाह भएको हुन्छ । कारण तपाईं खुसी हुनुहुन्छ तर तिनीहरू छैनन् । हुन त डाह गर्नेको के जात हुन्छ र के वर्ग । बस डाह गर्न पाए पुग्छ । त्यसैले होला कोही जन्मेदेखि नै डाह गर्छन्, कोह जन्माउँदा डाह गर्छन् । कोही छोरो जन्मे डाह गर्छन, कोही छोरी जन्मे डाह गर्छन् । कोही पेट बोकेदेखि नै डाह गर्छन्, कोही पेट बोक्न नपर्दा डाह गर्छन् । कोही चार जनाको बिचमा परिचित हुन पुग्दा डाह गरिदिन्छन् त कोही अपरिचित भई बस्दा डाह गर्छन् । कसैलाई अरूको डाहमा डाह हुन्छ । कतिपयलाई डाह गर्न सिर्फ एउटा बहाना चाहिन्छ । गजब छ यो डाह । उदाहरणका लागि तपाईंको पार्टनरले तपाईंलाई सप्राइज गिफ्ट दियो भने यी भँडुवाहरू भन्न थाल्छन्, “त्यो गिफ्ट पक्कै गल्ती सुधार्न दिएको हो, अवश्य केही गडबड छ !” अनि तपाईंको शङ्का जगाएर सम्बन्धमा चिसोपना ल्याइदिन्छन् ।
‘पुरानो रिस साँध्ने’ भँडुवा
यी भँडुवा पहिले नै तपाईंको सफल जीवन देखेर रिसाएका हुन्छन् । मौका पाएपछि तपाईंको सम्बन्धमा विष घोलेर बदला लिनु मात्रै उद्देश्य हुन्छ यिनीहरूको । उदाहरणका लागि तपाईंको कुनै पुरानो साथी अब तपाईंको सफल प्रेम जीवन देखेर डाह गर्छ । अनि तपाईंको पार्टनरलाई भन्न थाल्छ, “तिमीलाई थाहा छ ? ऊ पहिले मलाई मन पराउँथी !” अनि तपाईंको शान्त सम्बन्धलाई ‘थ्रिलर फिल्म’ बनाइदिन्छन् । यस्ता भँडुवाको चरित्र झुटको फ्युज हाल्ने भँडुवासँग धेरै मिल्छ । दुवै प्रकारका भँडुवाको उद्देश्य तपाईंलाई शान्त बस्न नदिनु नै हो । यसैमा उनीहरूलाई आनन्द मिल्छ ।
भँडुवाको रणनीति या भनौँ यिनीहरूको युद्धकला गजब गजबका हुन्छन् । यी तिनै युद्धकला हुन्, जसको सहायतामा यी भँडुवाले अरूको सम्बन्ध बिगार्न सफलता प्राप्त गर्छन् । यी युद्धकला एकै दिनमा बनेका पक्कै हुँदैनन् । बर्सौंको अथक प्रयास अनि मेहनतपश्चात् प्राप्त यस्ता युद्धकलामा निपूणता पाएपछि भँडुवाहरूमा अरूको सम्बन्ध बिगार्ने सोख पलाउन थाल्छ । केही सफलतापछि यो सोख व्यवसायमा बदलिन्छ अनि उनीहरू सम्बन्ध बिगार्दै बस्छन्, रमाउँदै बस्छन्, सफलताको जस्न मनाउँदै बस्छन् ।
आउनुहोस् केही मुख्य ‘युद्धकला’ मा केहीबेर चर्चा गरौँ–
‘स्मार्टफोन जासुसी’ रणनीति
यी भँडुवा सबैभन्दा पहिला तपाईंलाई पार्टनरको मोबाइल जाँच्न गर्न उक्साउँछन् । “ल, उसको फोन चेक गर त ! के के छ थाहा हुन्छ !” भनेर उक्साएपछि तपाईं शङ्का गर्न थाल्नुहुन्छ, अनि अन्ततः सम्बन्ध तनावपूर्ण बन्छ ।
‘फेक समाचार’ प्रविधि
यी भँडुवा साँचो कुराभन्दा झुटो कुरालाइ बढाइचढाई भन्न बढी सिपालु हुन्छन् । “ल हेर, तिमीले देखेनौँ होला तर उसले अर्कैसँग फ्लर्ट गरिरहेको थियो !” जस्ता हल्ला फैलाएर तपाईंलाई शङ्काको भुमरीमा धकेलिदिन्छन् । तपाईंको हालत खराब, उता ऊ भँडुवा दङ्ग । यस्तो चर्तिकला देखाउँदा हुने आनन्दको कुनै तुलना नै नहुने बताउँछन् यी भँडुवा । उनीहरू भन्छन्, “साँचो समाचारमा के मजा जति फेक समाचारमा छ ।”
‘सामाजिक सञ्जाल ह्याकिङ’ शैली
यी भँडुवा तपाईंको पार्टनरको सामाजिक सञ्जालमा नजर राख्छन्, अनि अनावश्यक कुरा निकालेर सम्बन्धमा झगडा लगाउँछन्, “हे ! भगवान्, उसले यो फोटोमा लाइक किन
ग¥यो ?” भनेर तपाईंको दिमाग तताइदिन्छन् । हो न हो, तपाईंलाई पनि उसको कुरा साँचो झैँ लाग्छ, त्यसपछि आउने शङ्काको भुमरीमा जाकिनबाट तपाईंलाई कसैले बचाउन सक्दैन, यसको परिणाम सम्बन्धमा चिसोपना ! भँडुवाहरूको जित ।
‘दुई जना झगडा लगाउने’ प्रविधि
यी भँडुवा एउटालाई अर्कासँग झगडा गराउन माहिर हुन्छन् । तपाईंको पार्टनरलाई केही अनावश्यक कुरा लगाएर तपाईंहरूको प्रेममय जीवनलाई अस्तव्यस्त बनाइदिन्छन् । यी भँडुवा अरूलाई दुःख पर्दा खुच्चिङ भन्ने मानसिकता बोकेका समाजका किरा हुन् । उनीहरूलाई खुच्चिङ भन्न न मौका चाहिन्छ न स्थान । छिमेकीको घरमा भात नपाक्दादेखि देशको प्रधानमन्त्रीले राजीनामा दिँदासम्म खुच्चिङ ठोक्दै बस्छन् । जुत्ता फाट्दा खुच्चिङ भन्नेहरू खुट्टा भाचिँदा खुच्चिङ भन्न किन डराउँथे । पैसा हराए खुच्चिङ, काम बिगारे खुच्चिङ । जोगी बने खुच्चिङ, रोगी भए खुच्चिङ । फेल भए खुच्चिङ, जेल गए खुच्चिङ । दुखे पनि खुच्चिङ, मरे पनि खुच्चिङ । लुटिए पनि खुच्चिङ, कुटिए पनि खुच्चिङ । जे गरे पनि खुच्चिङ ।
सम्बन्ध भनेको एउटा सुन्दर बगैँचा हो, जसमा प्रेम, विश्वास, इमानदारी, सम्मान, र स्नेहका सुगन्धित फूल फुलिरहेका हुन्छन् तर हरेक बगैँचामा हावाहुरी पनि आउँछ, किराहरू पस्छन्, अनि कहिलेकाहीँ कुनै बडेमानको हात्ती नै पसेर फूलबारीको सत्यानाश गरिदिन्छ । यही हात्ती हुन् भँडुवा ! अर्थात् ती मान्छे जो अरूका सम्बन्ध बिगार्न, घर नास पार्न, अनि अरूको जिन्दगीमा बम पड्काउन जन्मिएका हुन्छन् । भँडुवाहरूको जीवनको मुख्य उद्देश्य नै अरूको सम्बन्ध बिगार्नु हो । यिनीहरूबिना संसार अलि बढी शान्त, रमाइलो, अनि सकारात्मक हुन्थ्यो होला तर अफसोस ! समाजमा यिनीहरूको कमी कहिल्यै हुँदैन ।