• २७ वैशाख २०८२, शनिबार

उच्च प्रविधियुक्त प्रयोगशाला स्थापना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २७ गते । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रामक रोग तथा महामारीका बेला सुरक्षित नमुना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त प्रयोगशाला एकाइ स्थापना गरिएको छ । 

प्रयोगशाला उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको बताउनुभयो । उहाँले प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । 

प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रूपमा विकास गर्नु आवश्यक रहेको भन्दै उहाँले मन्त्रालयले सहयोगी भूमिकामा रहने बताउनुभयो ।मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दातालाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागिसमेत आग्रह गर्नुभयो । 

मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न सरकारी अस्पतालमा सम्भव नभएका परीक्षणका लागिसमेत सुपथ मूल्यमा व्यवस्था मिलाएको छ । नेपालमा पहिलो पटक निर्मित यो ल्याबको करिब चार करोड लागतमा निर्माण सम्पन्न भएको हो । 

प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्टले नेपालमा प्राथमिकता प्राप्त ५२ रोग परीक्षणका लागि आवश्यक उपकरण विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले यसले परीक्षण सहज हुने विश्वास गरिएको बताउनुभयो । स्वास्थ्यमन्त्री पौडेलले आधारभूत तहसम्म अनिवार्य परीक्षण हुनुपर्ने सूचीसहितको पुस्तिका अनावरण गर्नुभयो ।