• २७ वैशाख २०८२, शनिबार

चडहती [कथा]

blog

केही दिनदेखि धौले बडो उदास थियो । अनुहारमा चैनको सङ्केत पनि थिएन । अशान्त र व्याकुल थियो । आमालाई छोडेको थिएन । आमाले सायद धौलेको चैन लुटिएको कुरा बझेका थिए । हुन त आमा पनि उदास नै थिइन् । आमाको सान्त्वनाले धौलेलाई राहत भएको थियो कि ? हुन त कसरी थाहा हुन्थ्यो र धौलेको मनको कुरा । धौले र आमाको मनको कुरा अव्यक्त रूपमा आमा र धौलेबाहेक अरू कसैलाई थाहा हुँदैनथ्यो । धौलेले आमाको र आमाले धौलेको कुरा अनुहार हेराहेरले नै थाहा पाउने कुरा उनीहरू दुईलाई बाहेक अरू कसैलाई थाहा थिएन ।

धौले जन्मिनेबित्तिकै आमाले धौलेलाई ल्याएकी थिइन् रे । धौलेले उसकी आमाको दुध पनि दुई/तीन दिनभन्दा बढी खान पाएको थिएन रे । धौलेको आँखा खुलेकै थिएन रे आमाले धौलेलाई बोकेर ल्याउँदा । त्यसैले धौलेलाई आएको बाटो पनि राम्री थाहा थिएन । धौलेले आफ्नी महतारीलाई दुरुस्त नदेख्दै आमाले माइतीबाट ल्याएकाले धौलेकी आमा, आमा नै हुनुहुन्थ्यो ।

धौले र भालु दुई वटाको सङ्गत लामो समयको थियो । धौले सेतो थियो, भालु कालो । सेतो भएकाले धौले र कालो डरलाग्दो भएकाले भालु नाम राखिएको थियो । नाम अनुसारको काम पनि थियो । धौले सहनशील र शान्त थियो । उसको काम घरको रखवारी गर्नु थियो । कसैको केही नबिगारी रखवारीमा बडो इमानदार थियो । भालु आक्रामक थियो । घरको रखवारीका साथै युद्धमा होमिने खालको । केही नबिगारी घरतिर आउनेको पनि सातो लिन्थ्यो भालु । आइनलागेकासँग पनि जाइलाग्ने खालको थियो । जाइलागेर देखाइसकेको थियो पनि । सुइँको नदिएर लुकेर बिस्तारै झम्टेपछि मात्र थाहा हुने गरी घुसघुसे तरिकाले जाइलाग्थ्यो र भुत्ल्याउँथ्यो भालु । भुत्लिनेहरूले गालमाइकी दिएका हुन्थे । भालुलाई अधिकांश बाहिरियाले ‘तँ बाघका मुखौडो जाएइ’ भनेकै हुन्थे ।

धौलेसँगै भएकाले भालुको रिस शान्त गर्नमा धौलेको ठुलो हात हुन्थ्यो । धौले भनेपछि सबैले माया गर्थे तर भालुलाई मन पराउँदैनथे । भालुलाई गाली नगर्ने त घरका मानिस मात्र थिए । भालुले बोल्यो भने पूरा गाउँ थर्कन्थ्यो । उसको डाँकोले रुख हल्लिन्थे, चरा उड्थे । उसको आवाज रातापणाका पगार (भिर) र चिलिङ्गेको पगारमा ठोक्किएर निस्कने प्रतिध्वनिले मानिस मात्र होइन, जनावर पनि तर्सन्थे । सुवाखानको क्षेत्रको रखवारी गर्न भने धौले र भालुले कुनै कसर बाँकी राखेका थिएनन् । बाँदर धपाउन, बाँदरलाई पक्रेर आफ्नो भोजन बनाउन पनि धौले र भालु पछि पर्दैनथे । एकातिर धौले र अर्कातिर भालु भएपछि बाँदर उनीहरूको कब्जामा हुन्थे । राति मकैबारीमा आएको साइडो (दुम्सी) लाई दुईतिरबाट च्यापेर घरका मानिसलाई सिकार गर्न सजिलो बनाइदिन्थे बेला बेला । उनीहरूको आवाजले निद्राबाट ब्युँझेर साइडो (दुम्सी) मार्न सफल हुन्थे घर मालिक र खान्थे सिकार । साइडोको मासुको मिष्ठान्न भोजन तयार हुन्थ्यो । हिउँदमा गहुँका मुना खान आएको सस्सो (खरायो) लाई झम्टेर तिउनको व्यवस्था गरेर पटक पटक गुन लगाएका थिए धौले र भालुले । भालु पूर्णतया सिकारी थियो, धौले अर्धसिकारी ।

एक रात भालु गर्जन थाल्यो । उसको चर्को गर्जनको प्रतिध्वनिले सबै जना चनाखा भए । सधैँ जसो कुनै जङ्गली जनावर आएको अनुमान गरे । धौलेले पनि साथ दिइरहेको थियो । अँधेरी रातमा कुइँ कुइँ आवाज आयो । मानिसहरू बाहिर निस्कँदा धौले एक्लै थियो, भालु थिएन । टर्चलाइट बालेर मानिसहरू भालुको खोजीमा गए तर भालु भेटिएन । भालुलाई लछार्दै लगेको जस्तो भने देखियो । अनुमान लगाए– भालुलाई बाघले झम्टेर आफ्नो सिकार बनाएको ।

भालुको अचानकको सम्भावित मृत्युले घरमा एक खालको सन्नाटा छायो । धेरै दिनसम्म भालुको प्रतीक्षामा बसे पनि भालुको अत्तोपत्तो भएन । जङ्गल वरिपरि सबैतिर कुनै सङ्केत भेटिन्छ कि भनेर खोजी गरे तर भालुको एउटा रौँसमेत भेटाउन सकिएन । सबैले नराम्रो माने । घरका सदस्यले परिवारको सदस्य गुमाए सरह शोक मनाए । सबभन्दा बढी चोट धौलेलाई परेको थियो, दोस्रोमा आमालाई । धौले र आमा दुवैका मन अशान्त थिए । धौले आँखाबाट आँसु चुहाएको चुहायै थियो । आमाको नजिक गएर लम्पसार पथ्र्यो र मसिना आँसु खसाल्थ्यो, आमा भने धौलेलाई ‘मेरा पनि त सन्तान गुमे, म बाँचेकी छु र बच्चा पनि जन्माउँदै छु, तँ पनि त फेरि जन्माउन सक्छस् । हरेक कात्तिकमा तिमी आमा हुनु पर्छ, तिमी दुःखी नहोऊ’ भनेर आमाले धौलेलाई सम्झाउँदै गर्दा धौलेले आँसु बगाइरहेको देखिन्थ्यो । पूर्णतया विमुख थियो– सामान्य जीवनबाट धौले ।

समय बित्दै थियो । धौले पनि शोकबाट बिस्तारै मुक्त हुँदै थियो । आमा पनि अबको कात्तिकमा धौलेले अर्को भालु जन्माउने आसमा थिइन् । धौले र आमाबिचको सामीप्य त कहिले दूर हुन्थ्यो र ? ‘माइतीको कुकुर प्यारो हुन्छ छोरीलाई’ भन्ने उक्ति छँदै थियो । त्यसमा पनि त्यो धौले त जन्मेको तेस्रो दिनमै आमाले खाकीमा पोको पारेर ल्याएको । आफ्नै सन्तानभन्दा बढी माया गरेर पालेको । कि न होस् त 

माया ? आमा पानी लिन वा कुनै कामले बाहिर जान लाग्दा धौले पछि लाग्न खोज्थ्यो । आमाले नआइजा घर हेरर बस भनेपछि फरक्क फर्किएर घरको दैलोमा मुन्टो राखेर कसैलाई दैलाभित्र पस्न दिँदैनथ्यो । वस्तुभाउले खेतीपाती खान खोज्दा लखेट्थ्यो र फर्काउँथ्यो । आमाले ओखलमा धान, घोगा (मकै) कुट्दा वा जुतारो (जातो) मा पिस्दा नजिक गएर लम्पसार परेर बसिरहन्थ्यो । सायद उसले गर्न मिल्ने भए आफैँ गर्थें जस्तो लाग्थ्यो उसको बसाइ, हेराइ र व्यवहारले ।

कसैले धौलेप्रति नराम्रो ग¥यो वा गाली ग¥यो वा कुट्न खोज्यो भने तुरुन्त आमाकहाँ गएर पुच्छर हल्लाएर आमाले बुझ्ने गरी फिरादपत्र पेस गथ्र्यो । उसप्रति नराम्रो व्यवहार गर्नेलाई आमाले हकारेपछि उसको माग पूरा भए जस्तो गरेर खुसी हुन्थ्यो । आफ्नो जित महसुस गरेको स्पष्ट बुझिन्थ्यो । धौलेले आमाका छोराछोरीको स्याहारसुसारमा समेत सघाउँथ्यो । रोएका बेला चाटेर खेलाउँथ्यो । यताउति लड्न लागेका बेला बचाउँथ्यो । लडिहाले उठन सघाउँथ्यो । वास्तवमा धौले मानिसभन्दा बढी जिम्मवार थियो र आमाको भरोसायोग्य इमानदार सिपाही थियो । 

भालुको अवसानपछि धौले डराउँथ्यो । राति पनि बाहिर जाँदैनथ्यो । घरभित्रै बस्थ्यो । बाहिरको कुराको गन्ध महसुस गरेरभित्रैबाट भुकेर जनाउ दिन्थ्यो, सूचना प्रवाह गथ्र्यो । आमालाई सघाउने कुरामा उसको कमी नआए पनि ऊ शारीरिक रूपमा निकै कमजोर भइसकेको थियो । कमजोर नहोस् पनि किन उसले एकै पटक उसको चार थोक गुमाएको थियो । एउटा सन्तान, अर्को प्रेमी अनि पति र साथी । वास्तवमा धौलेका यी चारै थोक एउटै थियो– भालु । 

धौलेले भालुलाई आफैँले जन्माएको हो । भालु धौलेको पहिलो बेतको सन्तान थियो । पहिलो बेतका अरू ककसले मागेर लागे । भालुलाई धौलेको साथी बनाउन घरमै पालिएको थियो । भालु सानो हुँदा धौलेले पालनपोषण गरेर खेलाउँदै रमाउँदै हुर्कायो । भालु हुर्किंदै गयो र वयस्क भएपछि धौले र भालुबिचमा मित्रता बढ्दै गयो । उनीहरूको सामुदायिक प्रचलन अनुसार प्रेमीप्रेमिकामा परिणत भए । भावना साटासाट गर्दै आपसमा खेल्दै रमाउँदै थिए धौले र भालु । ऋतु अनुसारको प्राकृतिक अवस्थाले उनीहरूबिच समागम हुन गयो । उनीहरू लोग्नेस्वास्नी बने । धौले हरेक कात्तिकमा गर्भिणी हुन्थ्यो । अब भालुसँगको समागमबाट पनि गर्भिणी भयो । वास्तवमा धौलेको नाम धौली राख्नु पथ्र्यो तर धौले नै भनियो । त्यो समाजले अरू जनावर जस्तो गाई–बहर, भैँसी–राँगो, भाले–पोथी भने जस्तो कुकुरको लिङ्ग छुट्याएर बोलाउने चलन थिएन । कुकुर/कुकुर्नी नभनेर कुकुर मात्रै भन्ने प्रचलनले धौली नभनी धौले भनिएको थियो । पूरै शरीर सेतो भएकाले उसलाई सेतोको प्रतिविम्बका रूपमा धौले भनिएको थियो । अर्कोतिर भालु भने कालो न कालो थियो । शरीरभरि काला रौँ मात्र भएको र अनुहार पनि डरलाग्दो भएकाले उसको शारीरिक बनावट र स्वभाव अनुसार उसको नाम भालु राखिएको थियो । जस्तो नाम उस्तै काम थियो तिनीहरू दुवैको ।

भाद्र महिनाको कुनै रात धौले नराम्ररी भुक्यो । त्यो सुनेर घरका लोग्ने मानिस बाहिर निस्के । मानिस बाहिर निस्केपछि धौले पनि भुक्दै अघि बढ्दै गयो । मकैबारीमा मकै खाइरहेको साइडोलाई धौलेले लखेट्यो । साइडो अघि अघि धौले पछि पछि, त्यसपछि मानिसहरू एक अर्को गर्दै सबै जना कुदे । धौले साइडोको अगाडि गएर रोक्न सफल भयो । मानिसहरूले ढुङ्गाले साइडोमाथि प्रहार गरे । साइडो म¥यो । धौलेको सहायताले साइडोको सिकार गरेर मानिसहरू फर्के । घरमा ल्याएको साइडो काटकुट गर्न थाले तर धौले भने उनीहरूसँग फर्केन । आमाले धौलेको खोजी गर्न थालिन् । मानिसहरूले आउँदै होला भने, आमाले पत्याइनन् । साइडोको मासुको भाग लगाइसक्दासमेत धौले फर्केन । आमाले धौले नफर्केसम्म मासुको भाग नलिने अड्डी लिइन् । “तिमीहरूले साइडोसँगै मेरो धौले पनि मारेको हुन सक्छ । मेरो धौले नआएसम्म म मासु त के खाना पनि खान सक्दिनँ,” भन्न थालिन् । धौले कुकुर होइन, त्यो मानिसभन्दा पनि भरपर्दो मेरो कर्मठ कारिन्दा हो । यो घरको रखवारी गर्ने अब्बल सुरक्षार्थी हो भन्न थालिन् । 

बिहान उज्यालो भइसक्दा पनि धौले नआएपछि आमा धौलेले साइडो लखेटेर लिएकै दिशातिर गएर खोजपडताल गर्न थालिन् । खोज्दै जाँदा जहाँनेर धौलेले छेकेर राखेको साइडो मारिएको थियो, त्यहीँनेर धौले मरेको भेटियो । मानिसहरूले साइडोलाई हान्दा धौलेलाई पनि हान्न पुगेछन् र धौलेको इहलीला समाप्त गरेका रहेछन् । त्यो वास्तविकता आमालाई लुकाएका रहेछन् । कसको हातबाट धौले मारियो भन्ने कुरा कसैले भन्न चाहेन । सबैले यो कुरा गोप्य राखे । धौलेको लास भेटिएपछि आमाले साइडोको मासु खाने कुरै भएन । खानासमेत खान मन लागेन आमालाई । केही दिन घरको सदस्य सरह उसको जुठो बारेर उदास भएर बस्नुभयो । कात्तिक त आयो तर धौले थिएन । धौले नहुँदा आमाको धौलेको सन्तान जोगाउने कुरा पनि सकियो । धौले र भालुको भुकाइले चारैतिरका डाँडाहरू हल्लाई सुरक्षा दिने आवाजको अवसानले गाउँ शून्य बन्यो । जङ्गली जनावरले खेतीपाती नष्ट गर्न थाले । जङ्गली जनावरको चडहती (एकछत्र राज) भयो सुवाखानको खेतीपतीमा ।