गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २७ गते । नेपाली कांग्रेसले आतङ्कवादी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शुक्रबार सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारी बैठकले असंलग्न परराष्ट्र नीतिलाई दृष्टिगत गर्दै पार्टी सधैँ आतङ्कवादी गतिविधिविरुद्ध रहने प्रस्ट पारेको हो ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भारत र पाकिस्तानबिच बढेको तनावका सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैको पक्षमा उभिनेभन्दा पनि अहिले आतङ्कवादी गतिविधिको विपक्षमा उभिने हो । त्यसलाई संरक्षण गर्ने प्रवृत्ति हुनुहुन्न र आतङ्कवादलाई संरक्षण गर्नुहुँदैन भन्ने कांग्रेसको निष्कर्ष हो । हामी हाम्रा मित्रराष्ट्रलाई पनि यही आग्रह गर्दछौँ ।”
उहाँले केही दिनअघि भारतको पहलगाममा निहत्था नागरिकको हत्याको निन्दा गर्दै विकसित परिस्थितिबारे छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जहिल्यै पनि आतङ्कवादविरुद्ध छौँ । आतङ्कवादविरुद्ध हुने कारबाहीलाई जायज ठान्छौँ र कसैले पनि आतङ्कवादलाई प्रश्रय नदिओस् भन्ने हो । युद्ध नहोस्, चाँडै शान्ति बहाल होस् भन्ने चाहन्छौँ । विश्वभरि हुने आतङ्कवादी गतिविधि निरुत्साहित गर्नु पर्छ भन्नेमा कांग्रेस प्रस्ट छ ।”
टिआरसीबारे छलफल
प्रवक्ता महतका अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी र सदस्य नियुक्त गरेर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने सन्दर्भमा पनि छलफल भएको छ । उहाँले सरोकारवाला, राजनीतिक दल र द्वन्द्वपीडितसँग छलफल अघि बढाउने र यसलाई कुनै पक्ष वा विपक्ष नभई बेपत्ता र सत्य निरूपणको विषय टुङ्गो लगाउनुपर्नेमा कांग्रेस प्रस्ट रहेको बताउनुभयो ।
प्रवक्ता महतले भन्नुभयो, “सिफारिस समितिले आयोग पदाधिकारी र सदस्य टुङ्ग्याउने काम गरिरहेकै छ । सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानुन निर्माण भयो तर संरचना बनेको छैन । चाँडो टुङ्ग्याउनु पर्छ भन्ने निष्कर्ष निकालिएको छ ।” उहाँले संवैधानिक निकायमा पदाधिकारी र सदस्य नियुक्ति एवं पदपूर्तिको विषय पनि छलफल भएको बताउनुभयो । साथै नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्ने सन्दर्भमा पनि छलफल भएको छ । उहाँले भन्नुभयो, “व्यावसायिक व्यक्ति र राष्ट्र बैङ्कको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढङ्गबाट अघि बढाउन सक्ने क्षमतावान व्यक्तिलाई नियुक्त गर्नु पर्छ । सभापति देउवाले चाँडै निर्णय हुने जानकारी बैठकमा गराउनुभयो ।”
शिक्षा ऐन ल्याइने
बैठकमा शिक्षा विधेयकलाई चाँडै टुङ्ग्याउने विषय छलफल भएको छ । प्रवक्ता महतका अनुसार सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने, संस्थागत विद्यालयलाई कायम राख्ने र निजी विद्यालयलाई कायम राख्दै भविष्यमा निजी विद्यालय स्थापना गर्न दिने गरी ऐन निर्माण गर्न कांग्रेसका पहल रहने बताउनुभयो । उहाँले निजी विद्यालयले शिक्षकको सेवासुविधाका सन्दर्भमा ध्यान दिनुपर्ने, अत्यधिक नाफामुखी नहुने, राज्यले नियमन गर्ने गरी कानुन निर्माण हुने बताउनुभयो ।