अचानक ! आजदेखि
तिम्रो तस्बिर मलाई मन परेन
पहिले फूल देख्थेँ
त्यसभित्र सपना देख्थेँ
विपना कति देखेँ
हिसाब छैन
जब तिमीले मेरो मनभित्र
विपरीत आगो बाल्यौ
त्यसपछि म मर्दै गएँ
सुरक्षित राखेको तिम्रो सुन्दर तस्बिर
त्यही आगोमा जलाएँ
तिम्रा आदर्शहरू फ्याँकिदिएँ
तिमीसँगको पहिलो भेटभन्दा
तिम्रो चर्चा मिठो लाग्थ्यो
जब भेट भयो
तिमी जस्तै हुन् मलाई सिकायौ
हजारौँ मान्छेको भिडमा उभिन सिकायौँ
तिमीलाई थाहा नहुन सक्छ
मैले तिम्रो मुस्कानभित्र एक अदृश्य शक्ति देख्थेँ
जब मेरो सपनामा धोका दियौ
मैले सजाएको तिम्रो सुन्दर तस्बिर
च्यातेर सडकभरि फ्याँकँे
प्रशंसा गरेको
भुल ठानेँ
मैले तारिफ गर्दै भनेको थिएँ
क्या सुन्दर हजुरका शब्दहरू
चेहराका रङहरू
मुस्कानसाथ निस्केका महान् वाणी विचारहरू
कैयौँ पल्ट मैले हजुरलाई सम्झेर
रात काटेको थिएँ
जब किन टाढा हुने कोसिस गर्नुभयो
त्यही समय हजुरको नमिठो गन्ध आयो
त्यसपछि तपाईंप्रतिको विकर्षण बढ्यो
छातीमा बोकेको तिम्रो तस्बिर कुरूप देख्न थालेँ
आज त
तिम्रो सुन्दर मुस्कानभित्र भयानक सर्प देखेँ
हतार जोगिन
तिम्रो सुन्दर तस्बिर च्यातेर टुक्राटुक्रा पैतालाले कुल्चेँ
कस्तो सपना रहेछ जीवन
मेरो बाटो
मेरो विचार दर्शन
आस्था, भविष्य, प्रेम, नेता हजुर ठानेको थिएँ
यी सब मूर्ति र समय बर्बाद भए
जब तिम्रो जाल बुझेपछि कुरूप देख्न थालेँ
आज त तिम्रो तस्बिर झिकेर भित्ता खाली गरेँ
आजदेखि तिम्रो गन्धले
तिम्रो तस्बिर मलाई मन परेन !