खोटाङ, वैशाख २७ गते । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विधाका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला र पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
खुला महिला र पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५, २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७ र पाँच हजार पाँच सय ५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला÷पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूका लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुने छ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ ।
दस वर्षमुनिका छात्रछात्रा एक माल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले, चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सयको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र सात हजार पुरस्कार पाउनेछन् । १५ वर्षमाथिका महिला र पुरूष १० किलो मिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार, सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । महोत्सवको चौथो र पाँचौँ दिन ९वैशाख–३० र ३१ गते० खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।
खुला सिनियर पुरूष टेबलटेनिस प्रतियोगिताअन्तर्गत प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद २५ हजार, रु १२ हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले छ हजार दुई सय ५० का दरले पुरस्कार प्राप्त गर्ने छन् । खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनलिस्ट ले क्रमशः १५ हजार, सात हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले तीन हजार सात सय ५० का दरले नगद प्राप्त गर्ने छन् ।
खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, पाँच हजार र सेमिफाइनलिस्टले दुई जनाले क्रमशः दुई हजार पाँच सयका दरले नगद पुरस्कार पाउने छन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार र चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दिक्तेल बजारस्थित सिँचाइगेटबाट सुुरु हुने हाफ म्याराथन तथा दौड प्रतियोगितामा सहभागी हुने विभिन्न जिल्लाका धावक तथा दर्शकले जिल्लामा माहोल बनेको छ ।
छ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।