• २७ वैशाख २०८२, शनिबार

‘आगोको बीउ’ मा जीवन विधा

blog

निबन्धमा कलम चलाउने एक से एक साहित्यकारमाझ युवराज नयाँघरे एक सशक्त हस्ताक्षर हुनुहुन्छ । उहाँका निबन्ध र नियात्रासङ्ग्रह गरी डेढ दर्जन पुस्तक प्रकाशित छन् । यसै वर्ष ‘आगोको बीउ’ निबन्धसङ्ग्रह पाठकबिच आएको छ । 

सङ्ग्रहमा २६ वटा निबन्ध छन् । निबन्धमा समाज, सृष्टि, जीव, जगत्, जीवन, भोगाइ, सङ्घर्ष, अनुभवको दर्शनसहितको रसास्वादन गर्न पाइन्छ । जसले हरेक निबन्धलाई जीवन्त पारेका छन् । ‘चाल्दै–चाल्दै जीवन धुलो’ शीर्षक निबन्धमा समग्र जीवनलाई नै धुलोको विम्बका रूपमा लिँदै त्यसलाई चाल्नोमा चालेको चाल्यै या भनौँ सङ्घर्ष गरेको ग¥यै अगाडि बढाएको प्रसङ्ग प्रेरक छ । जसरी चाल्नोका प्रकार विविध छन्, त्यसै गरी ती चाल्नोले चाल्ने अन्नका प्रकृति पनि फरक फरक छन् । हो, जीवनका रूपहरू या भनौँ चरण अनुसार सङ्घर्षका रूप पनि फरक फरक हुने छन् । जसले जीवन जीउने कलाको विकास गराउँदछ । हरेक सङ्घर्षले जीवनलाई निखार्छन् । चाल्नोबाट तल खसेको पिठो नै प्राप्ति रहेछ, गौरव रहेछ ।  मानव जीवन रङैरङले भरिएको हुन्छ । त्यसैले त भनिन्छ, जीवन सप्तरङ्गी छ । तिनै रङहरूको अन्तिम विन्दु नै जीवन हो । जीवनमा जत्तिको रङ अरू केहीमा भेटिँदैन भन्दै लेखकले जीवनका विविध पाटाको उजागर गर्नुभएको छ । लेखकले त्यसो त रङले मानिसलाई अलमल्याउनेतर्फ सचेत गर्दै त्यस्तो अलमल्याइले आगामी दिनका धेरै साँझ रात बनेर लम्पसारिन्छन्, सामुन्नेमा अनेक खोल्सा भिर बन्दै तेर्सिन्छन्, छेवैका भँगालाहरू गहिरा नदीका भँगाला बनेर आउँछन् भनेर सम्झाउनुभएको छ । 

लेखकले सबाल्टर्नका पक्षमा सशक्त ढङ्गले आफ्नो पक्षधरता देखाउनुभएको छ । बगरमा सुन पाइने आसले बालुवा चालेर जीवन डो¥याउनेको कथा, काउलीको बोटमा सुत्ने केटीको भोक र आमाको माया गुमाउँदाको सङ्घर्ष, जाडो तथा गर्मीमा सधैँ एउटै लुगामा जोतिएर छाप्रोमा सिलौटो तथा लोहोरो बनाएर बेच्ने घोडा लोहारको अन्त्यको कथा, व्यथा र सङ्घर्षका कथाले कसको मन नछोला र ? ती निबन्धहरूको साझा निष्कर्षले भन्छ कि आँसुसँग सबै भाषाले बुझ्ने अर्थ हुँदो रहेछ । 

पारिवारिक रथ हाँक्ने अभिभावकको सङ्घर्षलाई ‘बुवाको गोजी’ शीर्षकमा मार्मिक तवरले देखाइएको छ । सन्तानको संसार जोगाउन बाबुले आफ्नो गोजीमा राखेको लगत कट्टाको रसिद, लालपुर्जा, बिजुलीको बिल, सन्तानको चिना, गहना बनाउँदाको बिल, इनार खनेको भर्पाई, गाईलाई साँढे लाउँदाको हिसाबी कागज, भुर्तेलको घरको श्राद्धको तिथिमिति, राँगा बेच्दा नगरपालिकालाई तिरेको पशु हट्टाको रसिद, जग्गाको तिरो तिरेको कागज, दुध पगार्न गाईलाई ओखती किन्दाको बिल, युरिया मल किनेको रसिद, छोरीलाई रुघा लाग्दा किनेको ओखतीको बिल, बोडीमा किरा मार्न किनेको औषधीको रसिदले आधुनिक अर्थतन्त्र, भूगोल, समाजशास्त्र, विज्ञान, कृषि, कानुन, संस्कृति, धर्मलगायत सबै विधा ओगटेको प्रसङ्गले सङ्घर्ष, निर्वाहदेखि लिएर दर्शनसम्मलाई अँचेटेको छ ।  त्यसो त लेखक अनेक खालका कहरबाट शान्तिको खोजीका लागि दक्षिणकाली मन्दिरमा पुग्नुहुन्छ । उहाँका विचारमा मन्दिर शान्ति, चकमन्न, मौनता र सुनसानले दिने ज्ञानको पुञ्ज प्रवाहित गर्ने स्थल हुनुपर्नेमा संवेदनाहीन ढङ्गले पशुबलि दिने कार्यलाई देखेपछि मानव सभ्यतामै प्रश्न उठाउएका छन् । जीवनको गतिलाई समयमार्फत नापेका लेखकले जीवनको सुन्दर समय बाटोमै खर्च भइरहेको छ है भनेर सजग गराउँछन्, जति बाटो उति समयको बर्बादी । एक घण्टाको बाटो माइत जान खुसी भएकी चेलीले आधा घण्टामा पार गर्छे र घर फर्कंदा त्यही बाटो डेढ घण्टा लगाउने विम्बात्मक प्रयोगले मानिसको गजबको मनोविज्ञान देखाएको छ । देशको नयाँ नक्सा कोर्न बसेकाले पाएको बाटो म्याद त नाघिसक्यो भनेर राजनीति अगुवाप्रति कटाक्ष गर्न पनि भ्याएकै देखिन्छ ।  थुक्नु नेपालीको प्रमुखमध्येको एक काम हो भन्दै थुक्ने बानीप्रति लेखकले व्यङ्ग्य कस्नुभएको छ । गाली गर्दा पनि थुक्क मोरामोरी भन्ने बानी छ । थुक आतङ्क सार्वजनिक यातायात, सडक, संसद्, सार्वजनिक स्थान, कार्यालय जता पनि देखेको प्रसङ्गले हाम्रो स्तरलाई प्रदर्शन गरेको छ । लुक्लामा बास बसेको विदेशी नागरिक नेपाली भरियाले खाकखुक गर्दै मुख धोएपछि बिच्किएको अवस्थादेखि अमेरिका जाँदा अमेरिकी साथीले नेपाली पाराको थुकाइ भनेर थुकेको कुराले हरनेपाली कायल नभइरहन सक्दैन । त्यसो त थुकमा पनि जातीय व्यवस्थाको झल्को देखिनुले साह्रै नरमाइलो गराउँछ । दमाईंले औँलामा थुक लगाएर धागो छिराएकाले आमाले श्राद्धमा चोलो खोलेर खाना पकाएको घटनाले आधुनिक सभ्यताको जगै हल्लाइदिन्छ । 

वैदेशिक रोजगार र अध्ययनका क्रममा युवा बिदेसिने क्रमप्रति लेखक ‘मृत्यु फरवार्ड’ मार्फत सजग रहेको देखिनुहुन्छ । युवा बिदेसिनु भनेको लैनो गाई वा भैँसी तिनीहरूसँगै जानु हो, खेतको उर्वराशक्ति हिँड्नु हो, सहकाल जानु हो, जाँगर, उत्साह र परिश्रमले बिदावारीको हात हल्लाउनु हो भनेर मिहिन तवरले सजग गराएको पाइन्छ । ‘कुनिउँको शब्दकोश’ मार्फत कुनिउँ अर्थात् परालको माच (थुप्रो) जत्रो छ, त्यस घरको सम्पन्नता त्यसले प्रस्ट्याउँछ भनेर आमाले गरेको अर्थशास्त्रको सरल व्याख्या रोचक छ । लेखक हरेक निबन्धमा तलको वर्गप्रति निकै संवेदनशील देखिएको पाइन्छ । यसमा पनि किसानको सम्मानप्रति सजग भेटिन्छ । घामपानी सहेर र पचाएर माचले अचल रूपमा सङ्गृहीत भई आफूलाई कसैको जीवनका लागि खटाएर प्रयोग गराइरहँदा अप्ठ्यारा दिनमा सहजता प्रदान गरेको छ । 

प्राकृतिक विपत्तिका रूपमा रहेको भुइँचालो केवल त्रास मात्र नरही मानिसलाई मृत्युको गीत सुनाउने माध्यम पनि रहेको भन्दै ‘निःशुल्क त्रास’ बाट भुइँचालो दर्शन प्रवाहित गरिएको छ । यसले के धनी के गरिब समान व्यवहार देखाउने हुनाले समानताको असली पैरवीकर्ता त भुइँचालो रहे झैँ देखाइएको छ । आधुनिक समाजमा बोल्नेले उपाधि पाइरहने चित्र ‘डिल्लुको बाख्रो’ मार्फत उतारिएको छ । लेखकले पशु मेलामा किसान पुरस्कृत हुने चलनले किसानको मेहनतलाई जोगाउनुभएको छ तर डिल्लुको बाख्रो सधैँ उत्कृष्ट भइरहनुले निष्पक्षतामाथि प्रश्न उठाएको छ ।  ‘बिँडो थाम्ने हतार’ बाट पुस्ता पुस्ताको बिचमा उत्पन्न भएको द्वन्द्वलाई लेखकले कलात्मक तवरले पस्कनुभएको छ । बुहारीले ससुराबाले ठोकेका भित्ताका किला उखेली भित्ताका कागज, झोला, पात्रो सबै ¥याक र दराजमा थन्काउँछिन् । ससुराबा पुनः किला ठोकी ¥याक र दराजमा थन्काएका वस्तुलाई किलामा टाँग्दा उब्जिएको पुस्ताको सोच, व्यवस्थापन र शैलीको द्वन्द्वलाई खिपेको पाइन्छ ।  फोहोर पानीको थिग्रिने सत्यताले सारा समस्या एक दिन थिग्रियर जाने छन् भन्ने सिद्धान्तलाई मुखर गरेको छ । ‘असिनाको अंशबन्डा’ मा असिना बर्सिंदा हुने रमाइलो र चिन्ता वर्गैपिच्छे फरक हुने विषयलाई लेखकले उतार्नुभएको छ । 

अर्को सशक्त निबन्ध शीर्षक ‘लुकी सानिमा’ मार्फत लेखकले हिजोआज आफन्तहरू टाढिएका, सम्बन्धहरू असामञ्जस्यमा परेको विषयलाई उजागर गर्नुभएको छ । लेखक आफैँले सिकेका कुरालाई नहिचकिचाई व्यक्त गर्नुभएको छ । त्यसको उदाहरण हो ‘मुसेधान’ । मुसाले खेतबाटै धान आफ्नो वासस्थानमा लुकाउन लैजाने क्रमबाट अरूकै व्यवस्थित प्रयोगबाट भए पनि जीवनलाई सम्पन्न र सुखद बनाएको छ । शरणार्थी जीवनको दुर्दशा, देश खोज्नेको कहानी, राष्ट्र गुमाउनेको पीडालाई ‘मिस यु बेलडाँगी’ बाट बोलिएको छ । 

जीवनको अन्तिम ‘स्टेसन’ आर्यघाट हो । त्यहाँ पुगेपछि केको हतार ? तैपनि मानिसहरू आर्यघाटमा समेत हतारमा हुन्छन्, हरव्यक्ति घडी हेरिरहन्छन् । आर्यघाटको वातावरणमै हतार छ । त्यहाँ जोगी, कोइला बटुल्नेहरू, खोलामा डुबुल्की मारेर पैसा टिप्ने किशोरहरू, चित्ता बनाउनेहरू, शव पोल्न बाँसका घोचा चलाउनेहरू, श्राद्ध गर्ने ब्राह्मणहरू, घाटमा पानी बेच्ने सबैलाई हतार छ । ‘आर्यघाटमा घडी हेर्नु हुँदैन’ शीर्षकबाट व्यक्त यी विचारले मानवीय चेतनाको हंस उडाइदिएको छ । ‘पुस्ता पीर र परकम्पन’ बाट एउटा गाउँकी आमाले सहरमा सन्तान पढाउँदा काटेको कहर र सपनालाई देखाइएको छ । गाउँबाट सहर आउने क्रमलाई लेखकले यसरी चित्रित गर्नुभएको छ– पढ्न, बिरामी भएर आउन, जागिर खोज्न, श्रम गर्न, धनीहरू बैङ्क खोज्न, सपना हुनेहरू पोख्ने ठाउँ हेर्न सहर भित्रिन्छन् । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको यो सङ्ग्रहमा २६ वटा निबन्ध समेटिएका छन् । पुस्तकको मूल्य ५९५ रुपियाँ रहेको छ ।