• १३ असोज २०८१, आइतबार

प्रदेशस्तरीय मेयरकप ब्याडमिन्टन सुरु

blog

ब्याडमिन्टनका खेल सामग्री हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गर्नुहुँदै नगर प्रमुख अमिर मादेन ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ३२ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सदरमुकाम फुङ्लिङस्थित इन्द्रेणी ब्याडमिन्टन हलमा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको हो । 

जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजनामा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र इलामबाहेक सबै अर्थात् १० वटा जिल्लाका खेलाडीले सहभागिता जनाएका छन् । जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले प्रतियोगितामा विभिन्न पाँच विधामा खेल खेलाउन थालिएको जानकारी दिनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार मिक्स डबल्स, मेन्स डबल सिनियर र जुनियर, कर्मचारी डबल्स र भेट्रान्स डबल्सका खेलहरू रहेका छन् । मिक्स डबल्स, मेन्स डबल्स (जुनियर) र कर्मचारी डबल्सतर्फ ताप्लेजुङ जिल्लास्तरीय तथा भेट्रान्स डबल्स र मेन्स डबल्सतर्फको खेल प्रदेशस्तरीय हुने उहाँले बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत मिक्स डबल्समा प्रथम हुनेले नगद १५ हजार रुपियाँ, द्वितीयले १० हजार रुपियाँकासाथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै मेन्स डबल्स (जुनियर)तर्फ प्रथमले नगद २० हजार र द्वितीय हुनेले १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, कर्मचारी डबलतर्फ प्रथमले १५ हजार रुपियाँ, द्वितीयले १० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रदेशीयस्तरीय खेलमा भने भेट्रान्स डबल्सतर्फ प्रथम हुनेले नगद २५ हजार र द्वितीयले १५ हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स डबल्स (सिनियर) तर्फ प्रथम हुनेले ३० हजार र द्वितीय हुनेले २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । 

शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले गर्नुभएको छ । प्रतियोगिताको मुख्य प्रयोजक पनि फुङ्लिङ नगरपालिका रहेको आयोजकले जानकारी दिएको छ ।